
अल्बानिया, क्यानडा र अमेरिका पठाउने नाममा ठगी, ३ जना पक्राउ
काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ बस्ने कपिलवस्तुको शिवराज नगरपालिका–५ घर भएका ५४ वर्षीय पवित्र प्रकाश अधिकारी, सोही स्थानमा बस्ने भोजपुरको षडानन्द नगरपालिका–१२ घर भएकी ३३ वर्षीया बबिता विश्वकर्मा र काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ बस्ने भक्तपुरको चाँगुनारायण नगरपालिका–९ घर भएका २५ वर्षीय साइरज सुवेदी रहेका छन्।
प्रहरीका अनुसार पवित्र अधिकारीले अल्बानिया पठाइदिने भन्दै ४ जना पीडितबाट १९ लाख रुपैयाँ, बबिता विश्वकर्माले क्यानडा पठाइदिने भन्दै २ जना पीडितबाट १९ लाख रुपैयाँ र साइरज सुवेदीले अमेरिका पठाइदिने भन्दै ३ जना पीडितबाट ११ लाख १४ हजार ५ सय रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो।
उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पवित्र र बबितालाई काठमाडौं महानगरपालिका–३२ बाट तथा साइरजलाई कागेश्वरी मनोहरा नगरपालिका–८ बाट पक्राउ गरेको हो।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।



कागजपत्र |
