देउवाले कांग्रेसका शीर्ष नेताहरूलाई छलफलमा बोलाए


काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन्। देउवाले शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बैठकमा उपस्थित हुन आह्वान गरेका हुन्।

सभापति देउवाले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आन्तरिक विषयमा छलफल गर्न बैठक राखेको जनाइएको छ। बैठकमा पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका, विधान मस्यौदा समिति गठन लगायतका विषयमा विस्तृत छलफल हुने बताइएको छ।

नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। महाधिवेशनको तयारीका लागि निर्वाचन समिति र क्रियाशील सदस्यता छानबिन समिति गठन भइसके पनि हालसम्म विधान मस्यौदा समिति भने गठन हुन सकेको छैन।

 

प्रतिक्रिया