छविलाल जोशी थुनामै रहने


काठमाडौं-  तुलसीपुर उच्च अदालतको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ। तर, सोही मुद्दामा प्रतिवादी रहेका पूर्व डीआईजी तथा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी भने हाललाई थुनामै रहने भएका छन्।

उच्च अदालतले जोशीको हकमा धरौटी बराबरको रकम राखेर रिहा हुन दिएको निवेदन रितपूर्वक पेश नभएको भन्दै तत्काल रिहा गर्न अस्वीकार गरेको हो। आदेशमा उल्लेख भएअनुसार, जोशीले आवश्यक प्रक्रिया पूरा गरी निवेदन पेश गरेमा त्यसबारे अदालतले निर्णय गर्नेछ।

मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको संयुक्त इजलासले उक्त आदेश दिएको हो। उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, जोशीले पनि रवि लामिछानेझैं भैरहवा जिल्ला अदालतमा गई आफूले बुझाउनुपर्ने रकम बराबरको बैंक ग्यारेन्टी पेश गरेपछि थुनामुक्त हुन सक्नेछन्।

रवि लामिछानेको हकमा भने उनी नख्खु कारागारबाट भैरहवा जिल्ला अदालतमा उपस्थित भई धरौटी रकम बुझाउन तयार रहेको कागज पेश गरेपछि रिहा हुनेछन्। हाल उनी नख्खु कारागारमै रहेका छन्।

प्रतिक्रिया