कानूनी प्रतिबद्धता र संगठनको गरिमा जोगाउँदै बिदा भए आईजीपी खापुङ


काठमाडाैं – नेपाल प्रहरी पछिल्ला केही महिनादेखि कठिन चुनौती र असहज परिस्थितिबाट गुज्रिरहेको थियो। जेनजी आन्दोलनपछि देशभरको सुरक्षाव्यवस्था अस्तव्यस्त, प्रहरी संगठनको मनोबल कमजोर र जनविश्वास घट्दै गएको थियो।

भर्खर संगठनको कमाण्ड सम्हालेका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले संगठनलाई पुनः लयमा फर्काउन सुरुवात गरे । भदौ १८ मा संगठनको बागडोर सम्हालेका खापुङले सातादिन नबित्दै ठूलो घटनाक्रमको सामना गर्नुपर्यो ।

कानूनी प्रतिबद्धता, संस्थागत मर्यादा र जनताको विश्वासलाई सर्वोच्च प्राथमिकतामा राख्दै, फुली लगाउने क्षणमै आईजीपी खापुङले भनेका थिए, ‘प्रहरी सरकारको होइन, संविधानको हो। आदेश व्यक्ति होइन, कानूनको पालना हो।’

त्यस दिनदेखि सुरु भएको उनको अभियान आज संगठनभित्र ‘संस्थागत आत्मा पुनःजागृत गर्ने मोड’ का रूपमा चर्चा गर्न सकिन्छ। जेनजी आन्दोलनपश्चात् थकित प्रहरी मनोबललाई ‘बुस्ट’ गर्न उनले थालेको ‘आत्मबल अभिवृद्धि कार्यक्रम’ले संगठनभित्र नयाँ ऊर्जा भरेको छ।

गाँस, बास, कपासको अभावबीच पनि अहोरात्र ड्युटीमा खटिँदै राजनीतिक अस्थिरताका बीच संसाधन, सुविधा र आवासको अभाव हुँदाहुँदै पनि खापुङले प्रहरीलाई फिल्डमै पुगेर हौसला दिए।

ड्युटीमा खटिएका कर्मठ प्रहरीहरुलाई उनको स्पष्ट सन्देश हुने गर्थे, ‘हामी आरामको होइन, जिम्मेवारीको ड्युटीमा छौं।’ अहोरात्र जनताको जिउ–धनको सुरक्षामा खटिएका प्रहरीहरूलाई उनले ‘गौरवका प्रहरी’ भन्दै सम्बोधन गरे। उनको यो कार्यशैलीले संगठनभित्र शिष्टता, आत्मविश्वास र अनुशासनको नयाँ वातावरण सिर्जना गरेको छ।

 

राजधानीको सुरक्षामा नयाँ लय

आन्दोलनका कारण सबैभन्दा अस्तव्यस्त बनेको राजधानीको सुरक्षा व्यवस्थालाई पुनः लयमा ल्याउन खापुङले ‘सुरक्षा पुनःस्थापना अभियान’ सञ्चालन गरे। त्यसक्रममा उनले प्रहरीको प्रत्यक्ष उपस्थिति बढाए, सूचनाको प्रवाह बलियो बनाए र स्थानीय तहसम्मको समन्वय पुनर्स्थापित गरे। राजधानीमा बढ्दै गएको अपराध, लुटपाट र भयको वातावरण घट्दै गएको तथ्य आम जनमानसलाई विश्वास दिलाए ।

आन्दोलनको समयमा देशभरबाट लुटिएका हतियार, भागेका कैदी र विध्वंसकारी समूहको चुनौतीबीच आईजीपी खापुङले सञ्चालन गरेका विशेष इन्टेलिजेन्स अपरेशन सफल भए।

फरार अभियुक्त पक्राउ परे, लुटिएका हतियार पुनः नियन्त्रणमा आए । प्रहरीप्रति आमजनताको विश्वास जिते, जसले गर्दा कतिपय प्रहरी चौकीहरु स्वतःस्फूर्त रुपमा श्रमदान र सहयोगमै पुर्नस्थापित बने । आन्दोलनमा चौकीबाट लखेटिएका कर्मचारीहरु विस्तारै ड्युटीमा फर्कन थाले । आपराधिक सञ्जाल कमजोर बनाइयो, कुख्यातदेखि गम्भीर अपराधमा संलग्नहरु समातिए । त्यसको श्रेय खापुङको संयमित र दृढ नेतृत्वलाई दिइन्छ।

 

राजनीतिक दबाब र गैरकानूनी आदेशको सामना

जेनजी आन्दोलनपछि सडकबाट बनेको सरकारबाट प्रहरीमाथि गैरकानूनी आदेशहरू आउने क्रम रोकिएको थिएन। तर, आईजीपी खापुङ त्यसबाट प्रभावित नभई सहज र सरल ढंगले अगाडि बढीरहे ।

प्रधानमन्त्री सुशीला कार्की — जो स्वयं पूर्वप्रधानन्यायाधीश थिइन् — र गृहमन्त्री ओमप्रकाश आर्याल — जो कानूनका ज्ञाता हुन् । दुवैबाट आएको राजनीतिक निर्देशनलाई उनले शालीन तर दृढ भाषामा अस्वीकार गर्दै संगठनको साख जोगाउन सफल बने ।

उनको जवाफले इतिहास बनायो, ‘प्रहरीको आदेश व्यक्ति होइन, कानूनबाट आउँछ। गैरकानूनी आदेश पालन हुँदैन।’ यो अभिव्यक्तिले मात्र होइन, उनको व्यवहारले पनि प्रहरी संगठनको कानूनी मर्यादा र स्वतन्त्रता पुनः स्थापित गर्‍यो।

छोटो कार्यकाल, दीर्घकालीन प्रभाव

आईजीपी चन्द्र कुबेर खापुङको २ महिनाभन्दा केही बढीको कार्यकाल थियो । तर त्यो छोटै अवधिभित्र संगठनको आत्मा पुनः जीवित बनाउने ऐतिहासिक यात्रा समेटिएको छ। उनले न त प्रदर्शन गरे, न त प्रचार खोजे, तर आफ्नो काम, निर्णय र नैतिक साहसले जनताको मन जिते।

उनको नेतृत्वमा नेपाल प्रहरीले संविधान र कानूनको पक्षमा दृढ उभिने साहस देखायो, र त्यो नै सिंगो राष्ट्रका लागि प्रेरणा बन्यो।

अन्त्यमा, आज जब राज्यका अन्य अंगहरू राजनीतिक दवाबमा ढलिरहेका छन् । नेपाल प्रहरीले आफ्नो ‘संवैधानिक चरित्र’ जोगाइराखेको छ भने त्यसको श्रेय आईजीपी चन्द्रकुबेर खापुङको कानूनी निष्ठा, संयम र नेतृत्व क्षमतामा जान्छ।

त्यसबाहेक यसअघि संगठनको नयाँ संगठन नियुक्ति विवादरहित बन्न नसकेका प्रशस्त इतिहास यसपटक दोहोरिएन । त्यसको प्रमुख श्रेय पनि खापुङलाई नै जान्छ ।

संगठनको नेतृत्वका लागि विभिन्न कानुनी झन्झट बेहोरिरहेको इतिहासमा निर्विकल्प र विवादरहित तरिकाले संगठनको नेतृत्वमा आउनु पनि खापुङको अर्को सफलता एवं संगठनप्रति निर्वाह गरेको भूमिकाप्रतिको कदर थियो । त्यस विश्वासलाई कायम राख्दै एउटा फौजीले कानुनविद् रहेका सरकारलाई संगठनको संरचना र महत्वका बारेमा ‘कन्भिन्स’ गरी बरियताको क्रमभंग नगरी विवादरहित तरिकाले काबिल उत्तराधिकारी चयन गर्नु भने अर्को सफलताको कडी हो । यससँगै उनले ३० वर्षे जागिरे जीवनको बिट मारेका छन् ।

उनले प्रमाणित गरेका छन् — ‘नेतृत्व पद होइन, सिद्धान्त हो।’

प्रतिक्रिया