२० लाखभन्दा बढीको सुन र नगद चोरी प्रकरणमा दुई जना पक्राउ


काठमाडौं-  सुनका गरगहना र नगद चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–११ का १७ वर्षीय किशोर र झापाको दमक नगरपालिका–६ निवासी ४८ वर्षीय मनोज विश्वकर्मा रहेका छन्। किशोरमाथि चोरीको आरोप छ भने विश्वकर्मामाथि चोरीका गरगहना खरिद गरेको आरोप लागेको प्रहरीले जनाएको छ। विश्वकर्मा सुन पसल सञ्चालकसमेत हुन्।

उनीहरूलाई प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार किशोरले उदयपुरको कटारी नगरपालिका–३ स्थित सानुमाया तामाङको घरबाट नगद र सुनका गरगहना चोरी गरेका थिए। घटनामा करिब २ लाख ५० हजार रुपैयाँ नगद र १८ लाख रुपैयाँ बराबरका सुनका गरगहना गरी कुल २० लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको आरोप छ।

चोरीपछि काठमाडौं आएका किशोर र चोरीका सुन खरिद गरेको आरोप लागेका विश्वकर्मालाई थप अनुसन्धानका लागि उदयपुरको कटारी पठाइएको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट सुनका ६ थान चुरा पनि बरामद गरिएको छ।

प्रतिक्रिया