
झापामा बेपत्ता सरोजको शव बिरिङ खोलामा फेला
झापा – एक हप्तादेखि बेपत्ता भएका शिवसताक्षी नगरपालिका–१० माइधारका ३२ वर्षीय सरोज शर्माको शव शनिबार बिहान बिरिङ खोलाको पुलमुनि गाडिएको अवस्थामा फेला परेको छ। दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि शव भेटिएको हो। शव प्लास्टिकमा बेरेर बालुवामुनि गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
शर्मा गत आइतबारदेखि हराएका थिए। उनको खोजीका क्रममा गत बिहीबार चारआली जंगल क्षेत्रमा जलेको अवस्थामा फेला परेको गाडी पनि शर्माकै परिवारको भएको पुष्टि भएपछि प्रहरीले अनुसन्धान तीव्र बनाएको थियो।
हत्या आरोपमा माइधारकै २५ वर्षीय सुनिल साह र अन्दाजी २६ वर्षीय राहुल साहलाई प्रहरीले पक्राउ गरेको छ। दुवैलाई इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुवास केसीको कमाण्डमा खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो।
शव फेला परेपछि घटनास्थल आसपास तनावग्रस्त बनेको छ। आक्रोशित भीडले शनिबार सुनिल साहको घरमा तोडफोड गरेको छ। भीडले घरमा आगजनी गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मृतक शर्माको शव पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ। घटनामा ४–५ जनाको संलग्नता हुनसक्ने मृतकका आफन्तले दाबी गरेका छन्। प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको छ।



कागजपत्र |
