
धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सको विमान भैरहवामा आपतकालीन अवतरण
भैरहवा- धनगढीबाट काठमाडौंका लागि उडान भरिएको श्री एयरलाइन्सको विमानले शनिबार बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरेको छ।
फ्लाइट नम्बर २२२ का चालकले हाइड्रोलिक फेलियरको सूचना दिएपछि विमानलाई तत्काल भैरहवामा डाइभर्ट गरिएको विमानस्थलका निर्देशक तथा प्रवक्ता श्यामकिशोर साहले जानकारी दिए। बिहान करिब १० बजे अवतरण गरेको विमान केही समय धावनमार्गमै अड्किएको थियो।
‘अहिले विमान आफैंको पावरले पार्किङ क्षेत्रसम्म ल्याइएको छ,’ साहले भने, ‘कम्पनीका प्राविधिक र इन्जिनियरले निरीक्षणपछि कारण स्पष्ट गर्नेछन्।’
विमानमा चालक दलसहित ८२ जना सवार रहेका सबै जना सकुशल रहेको विमानस्थलले जनाएको छ। अवतरणका कारण केहीबेर उडान अवरुद्ध भए पनि अहिले उडान सुचारु भइसकेको प्रवक्ता साहले बताए।



कागजपत्र |
