विश्वलाई बदनाम गर्दै चोखिने र चोख्याउने ठूलो चलखेल


काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा संसद भवन, सिंहदरबारदेखि राजनीतिक दलका कार्यालय र शीर्ष नेताहरूका निजी निवासहरू समेत ध्वस्त भए । सोही क्रममा प्रदर्शनकारीले प्रहरी कार्यालयलाई पनि लक्षित गरे, जसमा काठमाडौं उपत्यका प्रहरी कार्यालय समेत बच्न सकेन । त्यहाँ प्रदर्शनकारीले करिब दुई दर्जन प्रहरी गाडी तोडफोड गरी आगजनी गरे । कार्यालयका सम्पूर्ण भौतिक संरचना जलेर नष्ट भए भने ठूलो संख्यामा हतियारसमेत लुटिएको प्रहरीको भनाइ छ ।

उपत्यकाका धेरै प्रहरी कार्यालयहरू जलिरहँदा काठमाडौं प्रहरी परिसर भने सुरक्षित रह्यो । आन्दोलनको पहिलो दिन अर्थात् भदौ २३ गते प्रदर्शनकारी उग्र बनेपछि संसद भवनमा छिर्ने प्रयास गर्दा प्रहरीले गोली चलाएको थियो । संसद भवनको सुरक्षाको जिम्मेवारी सिधै प्रहरी हेडक्वार्टरले हेर्ने गर्छ । जसअनुसार त्यहाँ खटिने सुरक्षाकर्मीलाई उसले नै सञ्चालन गर्छन् । यसको अर्थ संसदको कार्यदल स्वय्म प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले कमाण्ड गरिरहेका थिए ।

सुरुमा भिड नियन्त्रणको विषयमा सही आकलन गर्न नसकेको प्रहरीले, जब प्रदर्शनकारी संसद भवनभित्र छिर्न खोजे, त्यहाँ भिड नियन्त्रणमा अनुभवी अधिकारी खटाएको थियो । स्रोतका अनुसार त्यही दिन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्र सिंह राठौरसहित अन्य अनुभवी अधिकारीहरू संसद भवनमा पठाइएका थिए । जेनजीबाहेक अन्य व्यक्तिसमेत घुसपैठ भएको उक्त भिडले संसद भवनको पर्खाल नै भत्काउन थालेपछि प्रहरी हेडक्वार्टरबाट बलपूर्वक नियन्त्रण गर्ने आदेश आएको थियो ।

त्यसबेला काठमाडौं प्रहरी परिसरका तत्कालीन प्रमुख एसएसपी विश्व अधिकारी( किलो वान) भने अश्रुग्यास र रबरको गोली मात्रै चलाउन भन्दै निरन्तर आग्रह गरिरहेका थिए । त्यहाँ खटिएका प्रहरीको बन्दुकका म्यागजिनमा आधा रबरका गोली र बाँकी ‘लाइफ राउण्ड’ भनिने घातक गोली राखिने प्रचलन छ । एसएसपी अधिकारीले घातक लाइफ राउण्ड नचलाउन आदेश दिइरहेका थिए । तर, भिड नियन्त्रण गर्न नसकिने अवस्था देखिएपछि हेडक्वार्टरले आधा घण्टाभित्र भिडलाई तितरबितर गर्न आदेश दियो, जसपछि प्रहरीले अन्धाधुन्ध गोली चलायो । यसकै परिणामस्वरूप धेरै जनाले ज्यान गुमाए भने ठूलो संख्यामा मानिस घाइते भए ।

त्यस दिन संसद भवन अगाडि एम्बुलेन्सनजिक उभिएका एक युवकमाथि समेत गोली प्रहार भएको थियो । सुरक्षा स्रोतका अनुसार सो एम्बुलेन्सले सशस्त्र प्रहरीका घाइतेलाई बोकेको थियो । तर प्रदर्शनकारीले एम्बुलेन्स रोकेको लाइभ सीसीटिभी भिडियो देखेपछि उपत्यका प्रहरी कार्यालयले गोली चलाउन आदेश रेडियो सेटबाटै दिएको थियो । त्यसपछि गोली लागेर त्यहाँ उभिएका युवक ढलेका थिए । उनै ढलेका युवकको सेतो जुत्ता समाजिक सञ्जालमा भाइरल बनेका थियो ।

उक्त दिन काठमाडौं उपत्यका प्रहरीका निमित्त प्रमुख डीआईजी ओम राना थिए । कार्यालय प्रमुख एआईजी टेक तामाङको अवकासपछि त्यहाँको कमाण्ड डीआईजी रानाको हातमा थियो । तर, पहिलो दिन १९ जनाको ज्यान जानुका साथै केही गम्भीर घाइते भएपछि स्थितीलाई नियन्त्रणमा लिनका लागि भोलिपल्ट अर्थात् २४ गते बिहानैदेखि एआईजी दानबहादुर कार्कीलाई मेट्रो पठाइएको थियो ।

बिहानैदेखि कफ्र्यु जारी गरेतापनि उनको फितलो उपस्थिती र आदेशले आन्दोलनकारीहरु बिहानैदेखि सडकमा देखिन थाले । सडकमा आन्दोलनकारीहरु उपस्थित भएको फोटो र भिडियोहरु सार्वजनिक हुन थालेपछि काठमाडौं उपत्यकाको गल्लीहरुबाट आन्दोलनकारी सडकमा आउन थाले । जसलाई नियन्त्रणमा लिन मेट्रो प्रहरी असक्षम साबित भयो ।

संसद भवनदेखि विभिन्न सरकारी भवन त परको कुरा उनले आफ्नै कार्यालय पनि जोगाउन सकेनन् । यतिसम्मकी उनको कमाण्डमा खटिएका प्रहरीले स्पष्ट आदेश नभएकै कारण ज्यानसमेत गुमाए भने पोष्ट र हतियारसमेत छाडेर भाग्न बाध्य भए । घातक हतियारहरु आन्दोलनकारीहरुले खेलौनाको रुपमा प्रदर्शन गरेका फोटो र भिडियोहरु भाइरल हुँदासम्म पनि हतियारसमेत नियन्त्रणमा लिनलाई प्रहरीले कुनै चासो र योजना बनाउन सकेन ।

तर, यता काठमाडौं प्रहरी परिसरलाई सुरक्षित जोगाउन सफल भएका र प्रदर्शनकारीमाथि गोली नचलाउन निर्देशन दिने ती एसएसपी विश्व अधिकारीलाई भने अहिले सरुवा गरिएको छ । हिजो मात्रै उनको ठाउँमा एसएसपी रमेश थापा पठाइएको छ । विगतमा शिक्षक आन्दोलनदेखि दुर्गा प्रसाईं नेतृत्वको राजावादी आन्दोलनलाई साम्य पार्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका अधिकारीलाई यसरी हटाउनु अन्याय भएको धेरैको बुझाइ छ ।

जेनजी आन्दोलनजस्तै चैत १५ गते दुर्गा प्रसाईंको समूहले पनि संसद भवनमा प्रवेश गर्ने प्रयास गरेको थियो । तर त्यो बेला अधिकारीकै कमाण्डमा खटिएको टोलीले संसद भवनलाई जोगाएको थियो । उनले तीनकुनेमा प्रसाईंलाई बानेश्वर प्रवेश गर्न रोक्दा ठूलो जोखिम टारेका थिए । यदि त्यो बेला आन्दोलनकारीहरू बानेश्वर पुग्न सकेका भए स्थिति अत्यन्तै गम्भीर हुने खतरा थियो ।

फागुन १८ गते नयाँ बानेश्वरमा भएको अर्को झडपमा सिंहदरबार वृत्तका डिएसपी गंगा पौडेल घाइते भएपछि स्थिति अझ अराजक हुनसक्ने अवस्था थियो । तर, त्यसबेला पनि एसएसपी अधिकारी आफैं फिल्डमा खटिएर आन्दोलन नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

यस्तो बेला उपत्यका प्रहरी कार्यालय जलेर ध्वस्त हुँदा परिसरलाई जोगाउन सफल अधिकारीलाई मात्र सरुवा गर्नु प्रहरी हेडक्वार्टरको अन्यायपूर्ण निर्णय भएको धेरै अधिकारीहरूको भनाइ छ । केही जुनियर अफिसरका अनुसार, एसएसपी विश्व अधिकारीलाई असक्षम सावित गर्न गहिरो षड्यन्त्र भइरहेको छ । डिआइजी बढुवाको प्रतिस्पर्धामा रहेका अधिकारीहरूकै रणनीति अनुसार उनलाई कमजोर देखाउन प्रयास भइरहेको स्रोतको दाबी छ ।

यसअघि पनि केही व्यक्तिहरूले उनलाई काठमाडौं परिसरबाट हटाउन षड्यन्त्र गरेका थिए, तर मिडियामा त्यो खबर सार्वजनिक भएपछि त्यो प्रयास असफल भएको थियो ।

कस्ता व्यक्ति हुन् एसएसपी विश्व अधिकारी ?
२०८१ सालको मध्य माघदेखि काठमाडौं प्रहरी प्रमुख बनेका अधिकारी पछिल्ला दिनमा अपराध नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन् । राजधानीलाई शान्त वातावरण बनाउन र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन अधिकारी निरन्तर सक्रिय छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र उपत्यका अपराध अनुसन्धान कार्यालय जस्ता संरचना भए पनि, अधिकारीको कमाण्डमा काठमाडौं परिसरले गरेका केही अपरेसन अझ प्रभावकारी देखिएका छन् । फरक ढंगको सूचना संकलन र अभियानले प्रहरी संगठनभित्रकै अन्य विभागलाई चुनौती दिने किसिमको परिणाम दिएको छ ।

अदालतको फैसला कार्यान्वयनदेखि फरार अभियुक्त पक्राउ गर्न उनले विशेष अभियान सञ्चालन गरेका छन् । अपराध नियन्त्रणका लागि राजधानीभरका वर्कसप सञ्चालकहरुसँग अन्तरक्रिया गरी सूचनाको नयाँ संयन्त्र खडा गरेका छन् । जसको परिणामस्वरूप पछिल्लो समय धेरै जघन्य अपराधमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन् ।

यस्तै, मोबाइल पसल सञ्चालक र राइड सेयरिङ कम्पनीहरुसँग सहकार्य गरेर अपराध नियन्त्रणलाई अझ मजबुत बनाएका छन् । ‘अपरेसन–९’ योजनासहित उनी आफैं फिल्डमा खटिने गरेका प्रशस्तै उदाहरण छन् ।

यस्तै अधिकारीको कमाण्डमा प्रहरीले राजधानीको एक घरबाट ४ करोड २५ लाख नगद र करिब ८ किलो सुन बरामद गर्न सफल भयो । यसले अधिकारीको सूचना संयन्त्र कति प्रभावकारी छ भन्ने देखाउँछ ।

‘प्रहरी मेरो साथी’ अवधारणाका प्रवर्तक समेत रहेका अधिकारी संगठनभित्र कानुन विज्ञका रूपमा परिचित छन् । व्यस्तताबीच पनि संगठनको नीति नियम निर्माणमा उनी प्रत्यक्ष संलग्न हुने गरेका छन् ।

मोरङ र कैलालीमा एसपी हुँदा उत्कृष्ट कामका कारण नै उनी आफ्नो ब्याचमा पहिलो नम्बरमा एसएसपीमा बढुवा भएका थिए ।

प्रतिक्रिया