खोटाङ अस्पतालको पूर्वाधार अभावबीच जन्मिएका शिशुको ज्यान गयो


खोटाङ- जिल्ला अस्पताल खोटाङमा जन्मिएका शिशुको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको छ।

शल्यक्रियामार्फत् जन्मिएका जानुका खत्री र सर्वकुमार खत्रीका नवजात शिशुलाई जन्मिएपछि नै श्वासप्रश्वासमा गम्भीर समस्या देखिएको थियो। त्यही कारण उनीलाई राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत् आमासहित काठमाडौं ल्याइएको थियो।

शिशुको सोमबार खोटाङमा जन्म भएको थियो भने काठमाडौंको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको आफन्तले जनाएका छन्। आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ।

अस्पतालका प्रमुख डा. रुपेश सङ्ग्रौलाका अनुसार एक हप्ता वितिसक्दा पनि व्यथा नलागेपछि तीनपटक औषधि दिएर पनि प्रसव नहुँदा शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि जन्मिएका शिशुमा श्वासप्रश्वासको समस्या देखिएपछि तत्काल काठमाडौं रेफर गरिएको थियो।

तर शिशुको मृत्युपछि आफन्तले स्वास्थ्यकर्मीको लापरवाही भएको भन्दै गुनासो गरेका छन्। उनीहरूको आरोप छ— समयमै उचित उपचार र तयारी नहुँदा शिशुको ज्यान गएको हो।

गत असार २२ गते कोशी प्रदेशका स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले १५ शय्याको अस्पताललाई ५० शय्यामा स्तरोन्नति भएको घोषणा गरेपछि आलोचना सुरु भएको थियो। अस्पतालमा दक्ष जनशक्ति र अत्यावश्यक उपकरणको अभावकै कारण दैनिकजसो बिरामीलाई हेलिकप्टरमार्फत् अन्यत्र पठाउनुपर्ने बाध्यता छ।

विक्रम संवत् २०४९ वैशाख १ गते स्थापना भएको जिल्ला अस्पतालका लागि निर्माण भइरहेको स्तरोन्नत भवन हालसम्म पनि अधुरै छ, जसले पूर्वाधारविहीन स्तरोन्नतिको वास्तविकता उजागर गरिरहेको छ।

प्रतिक्रिया