देशभर फैलियो डेंगु संक्रमण, गण्डकीमा सबैभन्दा बढी संक्रमित


काठमाडौं- नेपालमा पुस महिनादेखि हालसम्म २ हजारभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार हालसम्म ७३ जिल्लाबाट २ हजार २१३ जना संक्रमित भएका छन्।

डा. दाहालका अनुसार मनाङ, रसुवा, हुम्ला र डोल्पाबाट भने हालसम्म डेंगु संक्रमणको रिपोर्ट आएको छैन। सबैभन्दा बढी डेंगु गण्डकी प्रदेशमा फैलिएको छ, जहाँ ६१२ जनामा संक्रमण पुष्टि भएको छ। त्यसपछि क्रमशः बागमतीमा ४८१, कोशीमा ४०२, लुम्बिनीमा ३६७, सुदूरपश्चिममा २७१, कर्णालीमा ४२ र मधेश प्रदेशमा ३८ जनामा डेंगु संक्रमण देखिएको हो।

चिकित्सकहरूका अनुसार डेंगु एडिज जातको लामखुट्टेको टोकाइबाट सर्छ। यस्तो लामखुट्टे सफा पानी जमेको जुनसुकै भाँडो वा ठाउँमा हुर्कन सक्दछ।

डेंगुको लक्षणमा उच्च ज्वरो, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने, राता बिमिरा आउने, वाकवाकी लाग्ने वा वान्ता हुने र पखाला लाग्ने समेत पर्छन्। डेंगु हुँदा शरीर असाध्यै थकाइ हुने, र भोक नलाग्ने लक्षण समेत देखिने चिकित्सकको भनाइ छ।

 

प्रतिक्रिया