कास्की प्रहरी कार्यालय जलाउँदा घाइते भएका युवकको मृत्यु


पोखरा – जेनजी आन्दोलनका क्रममा कास्की जिल्ला प्रहरी कार्यालयमा आगजनी हुँदा गम्भीर घाइते भएका तनहुँ भररपुर–१० का ४३ वर्षीय विजय लामाको मृत्यु भएको छ।

प्रहरी कार्यालयमा लागेको आगोबाट गम्भीर रूपमा जलेका लामालाई तत्काल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको थियो। अस्पतालका निर्देशक प्रा.डा. प्रेमराज पंगेनीका अनुसार उनी ७० प्रतिशत जलेका अवस्थामा ल्याइएका थिए। सूचना अधिकारी सुशीलकुमार अर्यालले शनिबार बिहान करिब १२ बजे उपचारकै क्रममा उनको मृत्यु भएको जानकारी दिए।

लामा पोखरा–१६ बस्ने भए पनि कतिपयमा शुक्लागण्डकी–११ ठेगाना लेख्ने गरेका थिए। आन्दोलनकै क्रममा प्रहरी कार्यालय तोडफोड र आगजनी भइरहँदा उनी गम्भीर घाइते भएका थिए।

कास्कीका विभिन्न सरकारी कार्यालयहरूमा तोडफोड र आगजनीपछि आन्दोलनकारी डोजरसहित प्रहरी कार्यालय प्रवेश गरेका थिए। प्रहरी कार्यालयमा प्रवेश गर्ने क्रममा गोली लागेका अर्का एक युवकको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आन्दोलनकारीले कार्यालयभित्र तोडफोड, लुटपाट र आगजनी गरेका थिए। केही लुटिएका हतियार प्रहरीले पुनः फिर्ता गरेको छ भने केही अझै फेला पर्न बाँकी छन्।

प्रतिक्रिया