
८ दलको संयुक्त माग : संसद् विघटन फिर्ता लिनुहोस्
काठमाडौं – आठ राजनीतिक दलहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले शनिबार संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै संसद् विघटन जनताको मताधिकारमाथिको प्रहार भएको टिप्पणी गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, “यस्तो कार्यले नेपाली जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रहार गरेको छ।”
शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका थिए। त्यसपछि देशभर राजनीतिक तरंग फैलिएको छ।
आठ दलले भने संसद् पुनःस्थापना गर्न माग गर्दै भनेका छन्, “विघटनको निर्णय फिर्ता लिई तत्काल संसद्को बैठक बोलाइयोस्, ताकि जनता र आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै सम्बोधन हुने वातावरण तयार होस्।”




कागजपत्र |
