कञ्चनपुरमा युवकले फेसबुक लाइभमै गरे आत्महत्या, ‘जेनजी’ भन्दै कुटपिट गरेको आरोप


कञ्चनपुर – कञ्चनपुरका युवक नरेश धानुकले सामाजिक सञ्जाल फेसबुक लाइभमा अन्तिम सन्देश दिँदै आत्महत्या गरेका छन्। उनले आफूलाई ‘जेनजी’ भन्दै केही व्यक्तिले निर्वस्त्र पारेर कुटपिट गरेको दाबी गरेका थिए।

आत्महत्या अघि गरिएको लाइभमा धानुकले रोइरहेका अवस्थामा भनेका थिए, “मलाई सामाजिक अत्याचार भयो। म मर्दै छु। कांग्रेसको व्यक्तिले मलाई नाङ्गै बनाएर कुटपिट गर्‍यो।”

मृतककी दिदी हिरा धानुकले पनि भाइलाई जबरजस्ती दारु खुवाई नाङ्गो बनाएर कुटपिट गरिएको पुष्टि गर्दै त्यही अपमानका कारण आत्महत्या गर्न बाध्य भएको बताइन्। उनले शव नउठाउने चेतावनी दिँदै मृतकका सन्तानको जिम्मेवारी स्थानीय तह वा घटनामा संलग्न व्यक्तिले लिनुपर्ने माग गरेकी छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार पीडित परिवारले किटानी जाहेरी दिने तयारी गरिरहेको छ। ‘भिडिओ प्रमाणसहित उजुरी दर्ता गर्ने तयारी भएको छ। घटनाको गम्भीर अनुसन्धान र छानबिन अघि बढाइनेछ,’ उनले बताए।

प्रतिक्रिया