मन्त्री र सल्लाहकार छान्न अनलाइन भोटिङ र सिफारिस प्रक्रिया सुरु


काठमाडौं – अन्तरिम सरकारको नेतृत्वमा पुगेकी प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद् गठन अब भोटिङ र अनलाइन सिफारिस प्रक्रियाबाट हुने भएको छ। जेनजी समूहले यसअघि नै प्रधानमन्त्रीको नाम चयन गर्न सामाजिक सञ्जाल डिस्कर्ड मार्फत ‘भर्चुअल’ मतदान गरेका थिए, जसमा सुशीला कार्कीले ५० प्रतिशतभन्दा बढी मत पाएर प्रस्तावित भएकी थिइन्।

अब मन्त्री र तिनका सल्लाहकार चयन गर्न पनि सोही शैलीलाई निरन्तरता दिँदै, अनलाइन फाराम र भोटिङ प्रक्रियामार्फत नाम निश्चित गरिने तयारी भएको जेनजी आन्दोलनका अगुवा सुदन गरुङले बताए। उनका अनुसार नयाँ मन्त्रिपरिषद् सानो आकारको हुनेछ र योग्यताका आधारमा नाम छनोट हुनेछन्।

डिस्कर्डमा बनेको ‘युथ अगेन्स्ट करप्सन’ समूहमार्फत हजारौं युवाले प्रत्यक्ष छलफलमा भाग लिइरहेका छन्। त्यहाँ सहभागीहरूले सुझाव दिने, प्रश्न सोध्ने र तत्काल जवाफ पाउने अभ्यास गरिएको छ। यसअघि एकैपटक १० हजारभन्दा बढी सहभागी भएको छलफल युट्युब, फेसबुक र विभिन्न सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारणसमेत गरेका थिए।

प्रतिक्रिया