
पहिलो पटक एभरेष्ट बैंकमा नेपाली सिईओ, खालिङ सिईओमा नियुक्त
काठमाडौं – एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुदेश खालिङ नियुक्त भएका छन्। स्थापनाको २५ वर्षसम्म भारतीय नागरिकलाई सिईओ बनाएको बैंकले पहिलोपटक नेपालीलाई नियुक्ति दिएको हो।
चार बर्षका लागि बैंकका सिईओ नियुक्त भएका भारतीय मुलका गजेन्द्रकुमार नेगीले काम गर्न नसकेको भन्दै एभरेष्ट सञ्चालक समितिले १७ महिनामै फिर्ता पठाउने निर्णय गरेको छ।
हालसम्म बैंकले आफ्नो २० प्रतिशत सेयर साझेदारी रहेको भारतीय पञ्जाब नेशनल बैंकबाट प्रमुख कार्यकारी अधिकृत ल्याउँदै आएको थियो।
एभरेष्टमा खालिङ प्रमुख कार्यकारी नियुक्त हुने भएपछि उनले १५ दिनअघि नै सिटिजन्स बैंकको सञ्चालक समिति सदस्यबाट राजीनामा गरिसकेका छन्। सिटिजन्सले उनको राजीनामा सार्वजनिक गरिसकेको छैन।
नेगी आउँदो शुक्रबारसम्म बैंक नेतृत्वमा रहने छन्। प्रमुख कार्यकारी नियुक्तबारे एभरेष्टले राष्ट्र बैंकलाई मौखिक जानकारी गराइसकेको छ।
अब नेपाली प्रमुख कार्यकारी नियुक्त गर्न दुई बैंक मात्र बाँकी छन्। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल र नेपाल एसबीआई बैंकमा अहिले पनि विदेशी प्रमुख कार्यकारी अधिकृत छन्।



कागजपत्र |
