ठमेल झगडा प्रकरणमा पक्राउ परेका सानुभाइसहित ४ जना धरौटीमा रिहा


काठमाडौं — ठमेलस्थित क्लब ओम्नियाका सञ्चालकमाथि आक्रमण प्रयासमा संलग्न चार जनालाई जिल्ला अदालत, काठमाडौंले धरौटीमा रिहा गरेको छ।

पक्राउ परेकामा सानुभाइ भनिने युवराज गुरुङ, ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङ, रवीन्द्र गुरुङ र दीलबहादुर तुम्बापो छन्। अदालतले सानुभाइलाई २५ हजार र अन्य तीनजनालाई २०-२० हजार धरौटीमा छाड्न आदेश जारी गरेको छ।

साउन १४ गते राति ठमेलको नगरकोट दोहोरी साँझमा सानुभाइ पुगेको सूचना पाएपछि ओम्नियाका सञ्चालक गुरुङले रवीन्द्र र दीलबहादुरलाई हातपात गर्न पठाएका थिए। धक्कामुक्का भएको घटनामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। पछि रवीन्द्र र दीलबहादुरले आफूहरुलाई ओम्नियाका सञ्चालकले पठाएको स्वीकार गरेका थिए।

सानुभाइ र ओम्नियाका सञ्चालक गुरुङ दुवै नेपाली कांग्रेसका कार्यकर्ता भए पनि फरक गुटका हुन्। २०८० साउनमा सानुभाइले ओम्नियाका सञ्चालकमाथि आक्रमण गरेको घटनापछि उनी धरौटीमा छुटेका थिए। दुई वर्षपछि सोही घटनाको बदला लिने योजनामा आक्रमणको प्रयास गरिएको बताइएको छ।

प्रतिक्रिया