
‘कुलिङ पिरियड’ प्रतिवेदन कार्यान्वयन गर्न सभामुखको निर्देशन
काठमाडौं — सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० मा समावेश ‘कुलिङ पिरियड’सम्बन्धी प्रावधानमा गरिएको छेडखानीको छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका छन्।
सभामुख घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूको सुझाव अनुसार शुक्रबार प्रतिनिधि सभाका सचिवलाई सबै दलका संसदीय कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संघीय संसद सचिवालयमा प्रतिवेदन कार्यान्वयनका लागि पठाउन निर्देशन दिएका छन्।
यसअघि सोमबार सभामुख घिमिरेले सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेसँग छुट्टाछुट्टै छलफल गरेर प्रतिवेदन कार्यान्वयनबारे सुझाव लिएका थिए। छलफलमा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय र मुख्य सचिव एकनारायण अर्याल सहभागी थिए।
‘कुलिङ पिरियड’ प्रावधान हटाउने अभियानमा समितिले जिम्मेवार ठहर्याएपछि राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका थिए। सभामुख घिमिरेले सुशासन समितिको नयाँ सचिवको रूपमा सहसचिव कान्छा दुलाललाई जिम्मेवारी दिएका छन्।
सभामुखले सचिवालयका कानुन सहसचिव लक्ष्मीप्रसाद गौतम र कार्यव्यवस्था महाशाखा प्रमुख सहसचिव एकराम गिरीसँग पनि प्रतिवेदन कार्यान्वयनबारे परामर्श गरेका थिए।



कागजपत्र |
