ओली–प्रचण्ड गुटीय राजनीतिको एउटा मियोँ बन्दै चौरसिया हत्या
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संवादहिनताको एउटा कारण बन्न थालेको छ, पर्साका स्थानीय नेता मुकेश चौरसिया हत्या प्रकरण ।
उक्त प्रकरणमा पूर्वसभासद राजकुमार गुप्तासहित अन्यविरुद्ध किटानी जाहेरी पर्नु र नेकपा नेता मात्रीका यादवलगायतको दबाबपूर्ण उपस्थितिले पूर्वएमाले र पूर्वमाओवादी गुटीय राजनीतिको एउटा मियोँ बनाउन थालिएको हो ।
मृतक चौरसिया पूर्वमाओवादीमा थिए भने आरोप लगाइएका पूर्वसभासद गुप्ता पूर्वएमालेमा सक्रिय थिए । सुरुमा जिल्ला प्रहरी कार्यालय पर्साले उजुरी दर्ता नगरेपछि नेता यादवलगायतले विज्ञप्ति जारी गरेका थिए भने पीडित परिवारले सरकारी वकिलको कार्यालयमार्फत जाहेरी दर्ता गराउन बाध्य हुनु परेको थियो ।
चौरसियाको शव ८ दिनसम्म उठाइएन, जाहेरी दर्ता हुनासाथ अन्तिम संस्कार गरिएको छ ।
जाहेरीमा गुप्तासहित धीरज चौहान, लक्ष्मण चौरसिया, अकलेस चौरसिया, चिन्टु तिवारी, उत्तम तिवारी, जोखु राउत कुर्मी, वकिल मियाँ, सञ्जय चौहान, हनिफ मियाँ देवान, देवा सहनी मलाह र जनार्दन चौहानलाई आरोप लगाइएको छ । जाहेरी परेका १२ जनामध्ये देवा सहनी मलाह र हनिफ मियाँ मात्र प्रहरी नियन्त्रणमा छन् ।
घटनामा लाठीभाटा प्रहार गर्ने देवा सहनी र हनिफ मियाँ गुप्ताकै श्रीपुरस्थित घरबाट पक्राउ परेका थिए । घटना भएकै दिन उनकोे घरबाट पूर्वसभासद गुप्ता सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
केन्द्रीय नेतृत्वमा असन्तुष्टि बढीरहेका बेला यो हत्या प्रकरणलाई गुटीय तप्कामा राखेर व्याख्या गर्न थालिएको छ । प्रचण्ड पक्षका स्थानीयदेखि केन्द्रीय तहका नेताले गुप्तालगायतलाई जोगाउनका निम्ति प्रधानमन्त्री ओलीले भिटो प्रयोग गरेको आरोप लगाउन थालेका छन् ।
स्थानीय तहमा प्रचण्डसँग निकट रहेका वीरगञ्ज महानगरका नेकपा इञ्चार्ज रहबर अन्सारीलगायतको सक्रियता रहेको छ भने केन्द्रीय तहमा यादव, प्रभु साहलगायतले प्रश्न गर्न थालेका छन् ।
यसैपनि रअ प्रमुख सामन्त गोयलसँगको प्रधानमन्त्रीको भेट, मन्त्रीमण्डल पुनर्गठनका विषयमा मतभेद हुँदा अध्यक्षबीच संवादहिनताको अवस्था रहेका बेला चौरसिया हत्या प्रकरणलाई ‘कारण’का रुपमा प्रस्तुत गर्न थालिएको हो ।
‘तल्लो तहसम्म नै विभेदपूर्ण हिसाबले सत्ताको प्रभाव देखाउन थालिएको छ । न्यायका निम्ति विज्ञप्ति जारी गर्नुपर्ने, सरकारी वकिलको कार्यालय नै धाउनुपर्नेसम्मका काम हुन थालेपछि कसरी हेपिएको छ भन्ने पक्कापक्की देखियो’, पूर्वमाओवादी खेमाका एक नेता भन्छन्,‘यस्तो हिसाबले कसरी पार्टीभित्र मन मिलेको छ भन्नु ?’