सिराहा कारागारमा सर्च अपरेसनपछि झडप, १३ जना घाइते


सिराहा- सिराहा जिल्ला कारागारमा आइतबार अपराह्न कैदीबन्दीबीच दोहोरो झडप हुँदा १३ जना घाइते भएका छन्।

सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार, घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिराहा पठाइएको छ।

घटनापछि कारागार प्रशासन तथा सुरक्षा अधिकारीहरूको टोली कारागार पुगेर आवश्यक अनुसन्धान सुरु गरेको बरालले जानकारी दिए। प्रारम्भिक अवस्थामै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षकसहितको टोली घटनास्थलमा खटिएको छ।

बरालका अनुसार हाल अवस्था नियन्त्रणमा छ।

सिराहा कारागार क्षमताभन्दा करिब साढे तीन गुणा बढी कैदीबन्दी राखिएको कारण व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएको छ।

शनिबार बिहान मात्रै जिल्ला प्रशासन कार्यालय सिराहाको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहितको टोलीले कारागारका कक्षमा सघन सर्च अपरेसन चलाएको थियो।

सर्च अपरेसनको भोलिपल्ट झडप भएको हुँदा घटनाको कारण खोज्न प्रारम्भिक छानबिन सुरु गरिएको प्रशासनले जनाएको छ।

प्रतिक्रिया