
विद्यादेवी भन्छिन्– एमाले सदस्यता पहिल्यै नवीकरण गरिसकेको छु
काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सदस्यता पहिल्यै नवीकरण गरिसकेको स्पष्ट पारेकी छिन्।
आइतबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सदस्यता नवीकरणको प्रक्रिया पूरा भइसकेको बताएकी हुन्। “मैले पहिल्यै नवीकरण गरेको छु, बाँकी प्रक्रिया आधिकारिक च्यानलमार्फत हुन्छ,” उनले भनिन्।
ओलीसँगको भेटमा समसामयिक राष्ट्रिय राजनीतिको विषयमा मात्र कुराकानी भएको उनले बताइन्। “उहाँसँग मेरो राष्ट्रिय राजनीतिको बारेमा मात्रै कुराकानी भयो,” भण्डारीले स्पष्ट पारिन्।
ओली र भण्डारीबीच काठमाडौंको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा करिब दुई घण्टा एकान्तमै छलफल भएको थियो।
भेटवार्तापछि भण्डारी र ओली दुवै च्यासल कार्यालयबाट बाहिरिएका छन्।



कागजपत्र |
