
धनुषाको सबैलामा १४ लाखभन्दा बढी भ्रष्टाचार, पूर्वइन्जिनियरसहित ७ जनाविरुद्ध मुद्दा
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सबैला नगरपालिकामा कार्यरत तत्कालीन इन्जिनियर रञ्जितकुमार यादवसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
कृषि प्रवर्द्धन कार्यक्रमको लागि विनियोजित १४ लाख ७७ हजार ५०० रुपैयाँ हिनामिना गरेको आरोपमा सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो।
अख्तियारले दायर गरेको मुद्दामा यादवसँगै तत्कालीन लेखापाल शिव कुमार झा, पशु सेवा शाखा प्रमुख राजकिशोर सल्हैता, वडा नम्बर ८ का तत्कालीन वडाध्यक्ष दुर्गाप्रसाद राय, अर्चना कृषि सहकारी संस्थाकी अध्यक्ष संजुकुमारी यादव, तत्कालीन प्रशासकीय अधिकृत स्व. बालवीर ठाकुरकी पत्नी पलवी ठाकुर र छोरा रौनित ठाकुर पनि प्रतिवादी बनाइएको छ।
अनुसन्धानका क्रममा २०७७/७८ मा सञ्चालन भएको ‘बाख्राको साना व्यावसायिक कृषि उत्पादन पकेट विकास कार्यक्रम’ अन्तर्गत विनियोजित १५ लाख बजेटबाट बोका, पाठी र खसी खरिद नगरी झुटा बिल भरपाई र कागजात तयार गरेर रकम दुरुपयोग गरिएको पाइएको अख्तियारले जनाएको छ।
अख्तियारका अनुसार प्रतिवादीहरूबाट जनही १४ लाख ७७ हजार ५०० रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको हो।



कागजपत्र |
