दुई मन्त्रीकाे घुस प्रकरणले सरकार घेरिँदा प्रधानमन्त्री ओली संकट व्यवस्थापनमा


काठमाडाैं- दुई मन्त्री घुस प्रकरणमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओली गम्भीर संकट व्यवस्थापनमा जुटेका छन्। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका नेताहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग संयुक्त बैठक गर्दै प्रधानमन्त्री ओलीले सत्ता समीकरण बचाउन व्यापक छलफल थालेका हुन्।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी ७८ लाख रुपैयाँ घुस प्रकरणमा मुछिएपछि सरकारमाथि चौतर्फी दबाब बढेको छ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मन्त्री हेरफेर वा पूर्ण मन्त्रिपरिषद् पुनर्गठनको विकल्पमा छलफल गरिरहेका छन्। देउवासँग नयाँ सम्भावित मन्त्रीहरूको नाम र समर्थनबारे परामर्श भइरहेको जनाइएको छ।

प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंका अनुसार सोमबार साँझ ७ बजे बालुवाटारमा ओली, देउवा र यादवबीच भेटवार्ता तय भएको हो। भेटमा दुई मन्त्रीको अडियो काण्ड, सरकारको एक वर्षे समीक्षा, संसद्मा अड्किएको विधेयक पारित गर्ने रणनीति र सत्ता समीकरणबारे गम्भीर छलफल हुने बताइएको छ।

ओली र देउवा दुवैले जसपालाई सरकारमा सहभागी गराएर संसद्‌मा अल्पमतको अवस्था हटाउने योजना बनाएका छन्। यादवलाई सशक्त मन्त्रालय दिएर सरकारमा भित्र्याउने रणनीतिसमेत तयार गरिएको स्रोत बताउँछ।

 

प्रतिक्रिया