
नेपालमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, एक हप्तामै ४० नयाँ केस
काठमाडौं – पछिल्लो समय नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण दर फेरि बढ्न थालेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले पछिल्लो २४ घण्टामा ७ जनामा संक्रमण पुष्टि गरेको छ।
एक हप्ताभित्र ४० नयाँ संक्रमित थपिएका छन् भने पुसदेखि हालसम्म कुल ३३३ जनामा संक्रमण पुष्टि भइसकेको छ। सो अवधिमा २ जनाको मृत्यु भएको पनि ईडिसिडीले जनाएको छ।
देशभरिका ३९ जिल्लामा संक्रमित फेला परेका छन्। पछिल्ला हप्ताहरुको तथ्यांकले संक्रमणको दर बढिरहेको देखाएको छ।
बागमती प्रदेश सबैभन्दा बढी प्रभावित छ, जहाँ हालसम्म २४५ जना संक्रमित छन्। पछिल्लो सात दिनमा २३ नयाँ केस थपिएका छन्। कोशी प्रदेशमा ८, गण्डकी र लुम्बिनीमा ३–३, मधेसमा २ र कर्णालीमा १ नयाँ संक्रमित पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशमा पछिल्लो सात दिनमा नयाँ संक्रमित फेला परेका छैनन्।
स्वास्थ्य अधिकारीहरूले विशेषगरी बढी प्रभावित क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरेका छन्।



कागजपत्र |
