
चेक बाउन्स भए कालोसूचीमा पर्ने, मिलापत्रमार्फत निस्कन सकिने व्यवस्था लागू
काठमाडौं- नेपाल राष्ट्र बैंकले चेक बाउन्स (अनादर) सम्बन्धी नयाँ कार्यविधि लागू गर्दै खातावालालाई कालोसूचीमा राख्ने तथा मिलापत्रमार्फत समाधानको व्यवस्था गरेको छ।
राष्ट्र बैंकले ‘चेक अनादर व्यहोरा प्रमाणित गर्ने कार्यविधि, २०८२’ जारी गर्दै खातामा रकम नहुँदा वा पर्याप्त नभएर फिर्ता भएका चेकलाई चेक अनादरका रूपमा प्रमाणित गरी कालोसूचीमा राख्न सकिने व्यवस्था गरेको हो।
रकम मौज्दात भए पनि चेकधारकले चेकमा उल्लिखित विवरण गलत भनी फिर्ता गरेमा पनि कालोसूचीमा राख्ने आधार बन्नेछ।
संशोधित कार्यविधिअनुसार, चेक अनादर प्रमाणित गर्न चेकधारकले सम्बन्धित बैंक वा वित्तीय संस्थामा निवेदन दिनुपर्नेछ। निवेदन दिँदा अनादर भएको चेकको सक्कल प्रति र अनादर मितिले ६ महिनाभित्रको अवधि अनिवार्य हुनेछ।
बैंक वा वित्तीय संस्थाले प्राप्त निवेदनको आधारमा चेक जारीकर्तालाई कालोसूचीमा राख्न ५ कार्य दिनभित्र कर्जा सूचना केन्द्रमा जानकारी पठाउनुपर्ने व्यवस्था गरिएको छ।
कालोसूचिमा राखिनेमा चेक जारीकर्ता, दस्तखत गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्था तथा उनीसँग सम्बन्धित अन्य पक्षहरू पर्न सक्नेछन्।
तर, चेक बाउन्स भए पनि दुवै पक्षबीच मिलापत्र भएमा कालोसूचीबाट हट्ने वा नपर्ने सुविधा पनि कार्यविधिमा समावेश गरिएको छ।



कागजपत्र |
