
बाँकेमा छोराले गरे बुवाको हत्या
बाँके- बाँकेको बैजनाथ गाउँपालिका–२ मकैबारीमा एक छोराले आफ्नै बुवाको काठ प्रहार गरी हत्या गरेका छन्। ३२ वर्षीय भूपेन्द्र रोकायले आफ्ना ६० वर्षीय बुवा टोपबहादुर रोकाय क्षेत्रीको टाउकोमा जोत्न प्रयोग हुने हलोको मुङ्ग्रोले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय कोहलपुरकी डीएसपी लक्ष्मी खनालका अनुसार शनिबार साँझ साढे ७ बजेतिरको समयमा सानो विवादले हिंसात्मक रूप लिएको थियो। उनका अनुसार बुवाले छोरालाई “काम नगरी टिभी मात्रै हेरी बस्छस्” भनेर गाली गरेपछि बुवा–छोराबीच भनाभन भएको थियो।
भूपेन्द्र अविवाहित व्यक्ति हुन् र उनी दुईपटक सुधारगृहमा बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उनका दाजु–भाउजू घरनजिकै छुट्टै बस्दै आएका थिए।
हाल हत्या आरोपी भूपेन्द्र फरार छन्। उनको खोजीका लागि प्रहरी परिचालित गरिएको छ।



कागजपत्र |
