
लुम्बिनी सरकारबाट पनि बाहिरियो नागरिक उन्मुक्ति
बुटवल — नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले लुम्बिनी प्रदेश सरकारबाट पनि समर्थन फिर्ता लिएको छ। संसदीय दलका नेता धर्मबहादुर चौधरीले मुख्यमन्त्री चेतनारायण आचार्यलाई इमेलमार्फत समर्थन फिर्ता गरिएको जानकारी दिएका छन्।
नाउपाका चार जना सांसद रहेको लुम्बिनी प्रदेशमा गत साउनदेखि एमालेबाट बनेका मुख्यमन्त्री चेतनारायण आचार्यलाई समर्थन दिँदै आएको पार्टीले संघ र सुदूरपश्चिममा सरकारबाट बाहिरिएसँगै लुम्बिनीमा पनि समर्थन फिर्ता लिएको हो।
पार्टीको केन्द्रीय समितिले संघीय सरकारबाट समर्थन फिर्ता गर्ने निर्णय गरेपछि लुम्बिनी प्रदेश संसदीय दलको बैठकले पनि सोही निर्णयलाई औपचारिकता दिएको हो।
संसदीय दलका नेता चौधरीका अनुसार, अब नाउपा सरकारमा रहने कुनै अवस्था छैन। जनमत पार्टीकी सांसद गीता गुरुङ पदमुक्त भएपछि लुम्बिनी प्रदेशसभामा हाल ८६ सदस्य छन्।
यसअघि मुख्यमन्त्री आचार्यसँग ६५ सांसदको समर्थन थियो, तर नाउपाका चार सांसदको समर्थन फिर्तासँगै अब ६१ सांसदको समर्थन कायम रहनेछ।



कागजपत्र |
