चेक बाउन्स मुद्दामा पक्राउ परेका भेटवाल हाजिर जमानीमा रिहा


काठमाडौं- बहुचर्चित ‘काठमाडौं भ्यू टावर’का ठेकेदार तथा व्यवसायी मनोज भेटवाल हाजिर जमानीमा रिहा भएका छन्। चेक बाउन्स तथा बैंकिङ कसुरसम्बन्धी आरोपमा पक्राउ परेका भेटवाललाई काठमाडौँ जिल्ला अदालतले हिरासत म्याद थप गर्न इन्कार गरेपछि रिहा गरिएको हो।

गएको असार १३ गते अनामनगरबाट पक्राउ परेका भेटवाल दम र मधुमेह (सुगर) का बिरामी भएको भन्दै सोही रात धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएका थिए। त्यसपछिको असार १५ गते अदालतले उनलाई ६ दिनको म्याद दिएर अनुसन्धान गर्न आदेश दिएको थियो।

दोस्रोपटक असार १९ गते प्रहरीको अनुरोधमा अदालतमा उपस्थित गराइएका भेटवालको म्याद थप अस्वीकृत भएपछि उनी हाजिर जमानीमा रिहा भएका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार अदालतको आदेशपछि भेटवाललाई रिहा गरिएको हो।

भेटवालविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट असार ६ गते पक्राउ पुर्जी जारी गरिएको थियो। उनीविरुद्ध इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालकको हैसियतमा करिब १० करोड रुपैयाँ बराबरको बैंकिङ कसुरको जाहेरी दर्ता भएको छ।

उनले सिन्धुलीका व्यवसायी राजकुमार बरालसँग ठेक्कापट्टाको क्रममा ९ करोड ८ लाख रुपैयाँ लिएको र सो वापत दिएको चेक बाउन्स भएको आरोप छ। भेटवाल यसअघि पनि रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स घोटालासहित चेक बाउन्सका विभिन्न मुद्दामा पटक–पटक पक्राउ परेका छन्।

‘क’ श्रेणीका ठेकेदारका रूपमा चिनिएका भेटवालले काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन ‘काठमाडौं भ्यू टावर’लाई समेत अलपत्र बनाएका छन्। झण्डै एक दशकअगाडि सुरु गरिएको उक्त टावर अहिलेसम्म अधुरै अवस्थामा रहेको छ।

प्रतिक्रिया