


भिजिट भिसा प्रकरण: छानबिन समिति बन्ने सहमति, संसद खुल्ने बाटो खुल्यो

काठमाडौं— भिजिट भिसा प्रकरणमा सत्तापक्ष छानबिन समिति गठन गर्न सहमत भएपछि लामो समयदेखि अवरुद्ध संसद बैठक खुल्ने भएको छ। बिहीबारको संसद बैठकअघि सत्तारुढ नेपाली कांग्रेस र एमाले छानबिन समिति बनाउन तयार भएका हुन्।
यसअघि नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा छानबिन गर्न समिति गठनको लिखित प्रतिबद्धता आए मात्र संसद चल्न दिने अडान लिएका थिए।
बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काबीच छलफल भएको थियो। उक्त छलफलपछि कांग्रेस समिति बनाउन सहमत भएपछि माओवादी उपमहासचिव वर्षमान पुन, कांग्रेस उपसभापति खड्का, प्रमुख सचेतक श्याम घिमिरे, र एमाले प्रमुख सचेतक महेश बर्तौलाबीच अर्को चरणको बैठक बसेको थियो।
बैठकमा एमाले प्रमुख सचेतक बर्तौलाले ‘छानबिन तथा अध्ययन समिति’ गठन गर्न प्रस्ताव गरेका थिए। बर्तौलाको प्रस्तावमा सहमति बनेपछि सत्तापक्ष र प्रतिपक्षले छुट्टाछुट्टै आन्तरिक छलफल सुरु गरेका छन्।
छानबिन समिति गठनको सहमतिसँगै संसद सञ्चालनमा देखिएको गतिरोध अन्त्य हुने संकेत देखिएको छ।

