


एयर इन्डिया विमान दुर्घटनामा पूर्व मुख्यमन्त्री विजय रुपाणीको मृत्यु

काठमाडौँ — भारतको अहमदाबादबाट लण्डनतर्फ उडेको एयर इन्डियाको विमान उडान भरेको दुई मिनेटमै दुर्घटनामा पर्दा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीको निधन भएको छ।
उनको मृत्युको पुष्टि भारतीय सांसद परिमल नाथवानीले सामाजिक सञ्जाल एक्समार्फत गरेका हुन्।
विमानमा चालक दलका १२ सदस्यसहित कुल २४२ जना सवार थिए। तीमध्ये १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगाली र १ जना क्यानाडाका नागरिक थिए। हालसम्म कति जनाको मृत्यु भएको भन्ने विवरण भने खुल्न बाँकी छ।
दुर्घटना तब भयो जब विमान अहमदाबादस्थित नागरिक अस्पतालको आवासीय चिकित्सक बसोबास गर्ने भवनमा ठोक्कियो। यस घटनामा १५ जना डाक्टर घाइते भएका छन्।
विमान दुर्घटनाको कारणबारे अनुसन्धान सुरु भएको छ।

