प्रकृति लम्साल प्रकरण: आरोपी अद्विक श्रीवास्तव धरौटीमा रिहा


काठमाडौं — भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा शंकास्पद अवस्थामा मृत भेटिएकी नेपाली छात्रा प्रकृति लम्सालको प्रकरणमा पक्राउ परेका अद्विक श्रीवास्तव धरौटीमा रिहा भएका छन्। उच्च अदालत उडिसाले उनलाई एक लाख भारतीय रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

गत फागुन ४ गते प्रकृति लम्साल विश्वविद्यालयको होस्टलमा मृत अवस्थामा फेला परेकी थिइन्। उनीमाथि मानसिक र शारीरिक यातना दिएको आरोपमा भारतीय नागरिक श्रीवास्तव पक्राउ परेका थिए। उनी प्रकृतिका पूर्व प्रेमी भएको बताइएको छ। विश्वविद्यालयमा अध्ययनरत अन्य नेपाली विद्यार्थीहरूले न्यायको माग गर्दै प्रदर्शनसमेत गरेका थिए।

प्रहरीले अनुसन्धानको क्रममा प्राप्त गरेका अडियो, भिडियो र तस्बिरहरूले श्रीवास्तवले प्रकृतिलाई बारम्बार मानसिक यातना दिएको पुष्टि गरेको थियो। प्रकृतिले विश्वविद्यालय प्रशासनमा दुईपटक उजुरी दिएकी थिइन्, तर प्रशासनले आवश्यक कारबाही नगरेको विद्यार्थीहरूको आरोप छ।

श्रीवास्तवको रिहापछि प्रकृतिका पिता सुनिल लम्सालले परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र मानव अधिकार आयोगमा निवेदन दर्ता गराएका छन्। मुद्दा विचाराधीन अवस्थामा रहेको बेला अभियुक्त धरौटीमा छुटेपछि छोरीले न्याय नपाउने चिन्ता लागेको उनले उल्लेख गरेका छन्।

प्रतिक्रिया