


गभर्नर नियुक्तिविरुद्धको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको नियुक्ति बदरको माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि नियुक्तिको वैधानिकतासम्बन्धी स्पष्टिकरण माग्दै कारण देखाऊ आदेश जारी गरेको हो। साथै, अदालतले अन्तरिम आदेश सम्बन्धमा दुवै पक्षलाई छलफलका लागि पनि बोलाएको छ।
यसअघि मंगलबार अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले गभर्नर पौडेलको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा नेपाल राष्ट्र बैंक ऐन २०५८ मा गभर्नर पदका लागि आवश्यक शैक्षिक योग्यता तथा अनुभव नपुगेको व्यक्तिलाई नियुक्त गरिएको उल्लेख गरिएको छ।
रिट निवेदकहरूले पौडेललाई सिफारिस गर्ने, नियुक्त गर्ने तथा शपथ गराउने सरकारको निर्णय गैरकानुनी भएको जिकिर गर्दै उक्त निर्णय बदर गरिनुपर्ने माग गरेका छन्।

