दुर्गा प्रसाईं, धवल शमशेर र रवीन्द्र मिश्रमाथि लाग्याे कुन-कुन मुद्दा ?


काठमाडौं- गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनसम्बन्धी घटनामा संलग्न ठहर गर्दै दुर्गा प्रसाईं, रवीन्द्र मिश्र, धवलशमशेर राणालगायत ६२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अनुसार ६२ जनाविरुद्ध आइतबार मुद्दा दायर गरिएको हो भने बाँकी ३ जना नाबालकमाथि बाल अदालतमा मुद्दा दायर गरिनेछ। अभियोग पत्रमा ११ जना फरार प्रतिवादीका रूपमा उल्लेख छन्।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित २० जनामाथि हत्या, ज्यान मार्ने उद्योग, संगठित अपराध र राज्यविरुद्धको कसुरमा जन्मकैदको माग गरिएको छ। त्यस्तै, ५० जनाविरुद्ध राज्यविरुद्धको कसुर, ११ जनामाथि आपराधिक उपद्रवमा अभियोजन गरिएको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर जबराविरुद्ध राज्य विरुद्धको कसुरसहित ४ वटा मुद्दामा अभियोजन गरिएको छ । जबरालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए ।

पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र विरुद्ध ४ वटा मुद्दामा अभियोजन गरिएको छ ।  मिश्र विरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको काफ्लेले जानकारी दिए ।

तीनकुने प्रदर्शनमा भएको झडपका क्रममा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान गएको थियो। प्रदर्शनका क्रममा सरकारी र निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाटसमेत भएको थियो। सो घटनापछि प्रहरीले २ सयभन्दा बढीलाई पक्राउ गरेको थियो। हाल दुर्गा प्रसाईंसहितका केही अभियुक्तहरू हिरासतमा छन्।

प्रतिक्रिया