

६ वर्षपछि नख्खु कारागारबाट छुटेका अन्सारी सीआईबीको नियन्त्रणमा

काठमाडौं- नक्कली भारतीय नोट प्रकरणमा कैद सजाय भुक्तान गरी छुटेका युनुस अन्सारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ। सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न उनलाई सीआईबीले नियन्त्रणमा लिएको हो।
नख्खु कारागारबाट ६ वर्ष कैद भुक्तान गरी शनिबार छुटेका अन्सारीलाई सीआईबीले सोही दिन पक्राउ गरेको हो। उनलाई म्याद थपका लागि अदालतकाे अनुमति लिई अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
उनी २०७६ जेठ १० गते नक्कली ७ करोड ६७ लाख ९४ हजार भारतीय नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। सोही आरोपमा उनलाई अदालतले दोषी ठहर गर्दै ६ वर्ष कैद, ६० हजार जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो ।
उक्त कैद सजाय उनले शनिबारसम्म् भुक्तान गरेका हुन्।

