‘स्वेता खड्काको अपूरा अभियानले सिन्धुपाल्चोकको माझी बस्ती संकटमा’


काठमाडौं — २०७२ सालको भूकम्पपछि सिन्धुपाल्चोकको माझी बस्ती पुनर्निर्माणका लागि थालिएको कलाकार स्वेता खड्काको पहल अहिले विवादको केन्द्रमा आएको छ। नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला माझीले प्रतिनिधि सभाको आइतबारको बैठकमा उक्त अभियान अपूरा रहँदा स्थानीय माझी परिवारहरु ठूलो आर्थिक संकटमा फसेको भन्दै गम्भीर ध्यानाकर्षण गराएकी छन्।

सांसद माझीका अनुसार स्वेता खड्काले चौतारा साँगाचोकगढी नगरपालिका–११ स्थित माझी बस्तीमा नयाँ घर निर्माणको अभियान थालेकी थिइन्। तर अभियान बीचमै अलपत्र पर्दा ५५ घरधुरी बैंकको कालोसूचीमा परेका छन्। “सेवाको भावना देखाएर काम सुरु गर्नुभएको हो, तर कर्तव्य निर्वाह नहुँदा आज माझी बस्ती नै लिलाम हुने अवस्थामा पुगेको छ,” सांसद माझीले भनिन्।

स्वेता खड्कालाई कलाकारिता क्षेत्रका कारण सम्मान गरिने भए पनि जनसेवामा सुरु गरेको अभियान जिम्मेवारीपूर्वक पूरा नहुँदा सम्पूर्ण बस्ती प्रभावित भएको सांसद माझीको गुनासो छ।

भूकम्पले भत्किएको माझी बस्ती पुनर्निर्माण गर्न भन्दै उठाइएको आर्थिक स्रोत र त्यसअनुसारको कार्ययोजना अधुरो रहँदा स्थानीय माझी समुदाय बैंकको ऋणमा फसेको र अहिले घरजग्गा लिलाम हुने स्थितिमा पुगेको सांसद माझीले संसदमार्फत सरकारको ध्यानाकर्षण गराएकी छन्।

स्वेता खड्का तथा उनको फाउन्डेशनले भने यो विषयमा आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।

प्रतिक्रिया