

ललितपुरको लुभुमा रिह्याब सेन्टरभित्र किशोरको मृत्यु

ललितपुर— ललितपुरको लुभुस्थित एक पुनर्स्थापना केन्द्र (रिह्याब सेन्टर)मा उपचाररत एक किशोरको मृत्यु भएपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ।
जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार गएराति रिह्याब सेन्टरमा रहेका एक किशोरको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा मृत्युको कारण अझै स्पष्ट हुन बाँकी रहे पनि कुटपिटसम्बन्धी शंका उब्जिएको प्रहरीले जनाएको छ।
कुटपिट वा अन्य कुनै कारणले मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनापछि मृतकको परिवार र स्थानीयबासीले रिह्याब सेन्टरबाहिर आक्रोश पोख्दै आन्दोलन सुरु गरेका छन्। परिवारले मृतकलाई न्याय दिनु पर्ने माग राख्दै दोषीमाथि कडा कारबाहीको माग गरेका हुन्।
स्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गर्दा ३ जना आन्दोलनकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ। मृतकको पोष्टमार्टम रिपोर्ट र अनुसन्धान प्रतिवेदनपछि घटनाबारे थप विवरण सार्वजनिक गरिने जनाइएको छ।

