

मोनालिसालाई फिल्म अफर गर्ने निर्देशक बलात्कार आरोपमा पक्राउ

काठमाडौ- महाकुम्भबाट भाइरल भएकी मोनालिसालाई मुम्बई ल्याएर अभिनेत्री बनाउने वाचा गरेका निर्देशक सनोज मिश्रा पक्राउ परेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली प्रहरीले बलात्कारको आरोपमा उनलाई पक्राउ गरेको हो । यसअघि दिल्ली उच्च अदालतले मिश्राको जमानत निवेदन खारेज गरेको थियो ।
प्रहरीले सनोज मिश्रामाथि एक सानो शहरकी युवतीलाई पटक–पटक बलात्कार गरेको आरोप लगाएको छ । नायिका बन्ने सपना देखेकी ती युवतीलाई मिश्राले फिल्ममा भूमिका दिने आश्वासन दिएर फोन गरेका थिए । उनले शारीरिक शोषण गरेको र कसैलाई भनेमा फिल्म उद्योगमा अवसर नपाउने धम्की दिएको पीडित महिलाले बताएकी छन् ।
पीडितका अनुसार १८ फेब्रुअरी २०२५ मा सनोजले उनलाई होटलमा बोलाएर शारीरिक सम्बन्ध राखे र पछि विवाहको वाचाबाट पछि हटे । अनुसन्धानका क्रममा मुजफ्फरनगरबाट गर्भपतनसम्बन्धी मेडिकल कागजातहरू पनि सङ्कलन गरिएको छ ।
यस्तै, मुम्बईमा ती महिलासँग चार वर्षदेखि लिभ-इन सम्बन्धमा रहेको, तीन पटक गर्भपतन गराउन बाध्य पारेको र विवाहको वाचा तोडेको आरोप सनोजमाथि लगाइएको छ ।

