

प्रतिकूल मौसमका कारण उडान प्रभावित, अन्तर्राष्ट्रिय उडान डाइभर्ट

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खराब मौसमका कारण सोमबार बिहानैदेखि उडान तथा अवतरण प्रभावित भएको छ।
भिजिबिलिटी कम हुँदा आज बिहानैदेखि समस्या भएको विमानस्थलका प्रमुख जगनाथ निरौलाले बताए।
‘बिहानको भिजिबिलिटी १ हजार ६०० भन्दा कम रहेकोले केही अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका छन्,’ उनले भने, ‘एयरलाइन्सका आफ्ना–आफ्ना नीति रहेका छन्। आवश्यक भिजिबिलिटी नपुगेपछि उडान र अवतरणमा समस्या भएको छ,’ निरौलाले भने।
काठमाडौं अवतरणका लागि आएको जजिरा एयर र एयर इन्डियाको जहाज भारतको बनारस पुगे कति विमानहरू भैरहवामा डाइभर्ट गरिएको उनले जानकारी गराए।
अहिले मौसममा सुधार आइरहेकाले विस्तारै डाइभर्ट भएका जहाज काठमाडौं अवतरण गर्न लागिएको उनले बताए।
बिहान भएको अवतरणको समस्याका कारण अहिले उडान तालिका २ देखि ३ घन्टासम्मलाई सारिएको छ।
बिहानैदेखि उडान प्रभावित भएपछि एयर इन्डियाले विमानस्थलभित्र नै खाजा वितरण गरेको छ।

