तस्करीको भारतीय स्कर्पियोमा नेपाली नम्बर प्लेट


झापा- झापाको मेचिनगर नगरपालिका–६ स्थित काँकडभिट्टा बसपार्क क्षेत्रबाट ११ चैत बेलुका सशस्त्र प्रहरीले नक्कली च्यासिस र नम्बरप्लेटको स्कारपियो गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकाहरू मोरङको पथरी शनिश्चरे नगरपालिका–८ बस्ने २१ वर्षीय ईश्वरी भण्डारी र भारतको नक्सालवारी पञ्चायत घर बताउने ३५ वर्षीय निताई घोस छन् ।

उनीहरूले भारतीय स्कारपियो गाडीलाई नेपाली च्यासिस र नम्बरप्लेट बनाएर ल्याउँदै गरेको अवस्थामा नं. २ गण झापा मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म काँकाडभिट्टाबाट खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो । नेपालबाट पुरानो गाडी भारतीय शहर लगेर त्यहाँको नयाँ गाडीमा नेपाली च्यासिस र नम्बरप्लेट राखेर नेपाल ल्याउने गरेको सूचनाको आधारमा पछिल्लो दिनमा विशेष निगरानी गरिएको थियो ।

उक्त गाडीको ईन्जिन नम्बर GCA4D12128, च्यासिस नम्बर MA1TA2GCKA2D32553 र नम्बरप्लेट बा ८ च १३३८ राखिएको छ । नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद गाडीको २५ लाख रुपैयाँ मूल्य कायम गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया