

त्रिशुलीमा ट्रक खस्दा चालकको मृत्यु, सहचालक घाइते

चितवन – मुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलो भन्ने स्थानबाट कोइला बोकेको ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी सहचालक घाइते छन् ।
आज बिहान करिब साढे ६ बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक आफैं अनियन्त्रित भई त्रिशूलीमा खसेको थियो ।
दुर्घटनामा परी ट्रक चालक रौतहटका अन्दाजी ३०/३५ वर्षीय रामनारायण यादवको मृत्यु भएको र सहचालक रौतहटकै १९ वर्षीय असुन्द्र कुमार यादव घाइते भएको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाका कारण ट्रक पूर्णरुपमा क्षतिग्रस्त भएको छ । ट्रकको आधा भाग त्रिशूली नदीमा डुबेको देखिन्छ ।

