

ससुराली जाँदा मारिएका शिवशंकरको हत्या आरोपमा श्रीमती सिर्जना पक्राउ

महोत्तरी – ससुराली जाँदा बाटामै हत्या गरिएका शिवशंकर महतोको हत्या आरोपमा उनकै श्रीमती पक्राउ परेकी छिन् ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-८ दिगम्बरपुरका महतोको हत्या गरेको आरोपमा श्रीमती सिर्जना महतो पक्राउ परेकी हुन्।
सिर्जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। गत शुक्रबार साँझ साढे ५ बजेतिर गौशाला नगरपालिका-८ मा रहेको सागरनाथ वन विकास परियोजनाको जंगलमा रहेको रेलवे ट्र्याक भन्दा एक सय मिटर पर शव फेला परेको थियो।
मृतकको टाउकोमा खुकुरी प्रहार गरिएको र जलाइएको अवस्थामा फेला परेको थियो। प्रहरीका अनुसार मृतक शिवशंकर श्रीमती सिर्जनासँग ससुराली जाँदै थिए। त्यसबीचमै घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता छ। यसमा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको र अन्यको खोजी भइरहेको प्रहरीको भनाइ छ।
घटना विवाहेत्तर सम्बन्धका कारण भएको हुन सक्ने प्रहरीको अनुमान छ।

