

अल्लु अर्जुन बने भारतको सबैभन्दा महँगो अभिनेता

काठमाडाैं- दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन भारतको सबैभन्दा महँगो अभिनेता बनेका छन् । अल्लु अर्जुनको पुष्पा २ बक्स अफिसमा हाई लेभलको ‘बेन्चमार्क’ स्थापित गरिदिएको छ ।
यो ऐतिहासिक सफलता पछि अभिनेता आफ्नो अर्काे फिल्म लिएर चर्चामा आएका छन् । अल्लु अर्जुनको यो फिल्म ‘पठान’ निर्देशक एटलीले बनाउँदैछन् ।
यसको नाम हाललाई ‘ए ६’ राखिएको छ । फिल्मबारे नयाँ अपडेट आएको छ । नयाँ अपडेटका अनुसार अल्लु अर्जुनले निर्माताहरूबाट फिल्मबाट ठूलो रकम लिएका छन् । यो पारिश्रमिक लिएपछि उनी भारतको सबैभन्दा महँगो अभिनेता बनेका छन् ।
सेलिब्रेटी फ्यान पेजका अनुसार अल्लु अर्जुनले ‘ए ६’का लागि १७५ करोड भारु लिएका छन् । यस फिल्मबाट उनी आज भारतमा सबैभन्दा धेरै पैसा लिने अभिनेता बनेको खबरहरू छापिएका छन् ।

