ममता काफ्ले बेपत्ता मुद्दामा ग्रान्ड जुरी रद्द गराउन नरेशका पक्षबाट दायर गरिएको मोशन स्वीकृत


काठमाडाैं- अमेरिकास्थित भर्जिनियामा बेपत्ता नेपाली नर्स ममता काफ्लेको शव लुकाएको अभियोगमा पक्राउ परेका श्रीमान् नरेश भट्टलाई बिहिबार अदालतमा पुनः उपस्थीत गराइएको छ । ग्रान्ड जुरीको समेत अधिकार त्याग्नका लागि न्यायाधीशसमक्ष अनुरोध गर्दै नरेशका वकिलबाट दायर गरिएको मोशनका सन्दर्भमा भएको सुनुवाईका क्रममा उनलाई अदालतमा उपस्थीत गराइएको नेपयोर्कले जनाएको छ ।

न्यायाधीशले ग्रान्ड जुरी रद्द गराउन नरेशका पक्षबाट दायर गरिएको मोशन स्वीकृत गरेका छन् । अर्थात् अब यो मुद्दामा ग्रान्ड जुरी राखिने छैन । अब अर्को सुनुवाई सेप्टेम्बर १६ का लागि तोकिएको छ ।

अक्टोबर २४ को प्रारम्भिक सुनुवाइ रद्द गर्नका लागि नरेश भट्टका तर्फबाट दायर गरिएको मोशन गत बिहिबार अदालतले स्वीकार गरेपछि अक्टोबर ७ का लागि ग्रान्ड जुरी तोकिएको थियो । प्रिन्स विलियम काउन्टी जुडिसियल सेन्टरको कोर्टरुम २ मा विहान पौने ९ बजेका लागि ग्रान्ड जुरी तय भएको थियो । तर, ग्राण्ड जुरी रद्द गर्ने मोशन स्वीकृत भएकाले मुद्दा अझ छिटो प्रकृयामा जानेछ ।

ममता बेपत्ता घटनाको अनुसन्धान गरिरहेको भर्जिनियाको मनासस पार्क प्रहरीले गत शुक्रबार सिग्नल हिल पार्कमा खोजी गरेको थियो । अधिकारीहरूले थप प्रमाणहरू खोज्न जारी राखेका छन् । ममता काफलेको शव लुकाएको अभियोगमा पक्राउ परेका श्रीमान् नरेश भट्टमाथि थप अभियोगहरु लाग्नसक्ने प्रहरीले जनाएको छ ।

यस अगाडि भएको सुनुवाईमा नरेशलाई अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेको थियो ।

ममता १५ साउनबाट सम्पर्कविहीन भएकी थिइन् भने घरमा भारी मात्रामा रगत बगेकोसहितका तथ्यहरु फेला परेपछि मनसास पार्क प्रहरीले ७ भदौमा नरेशलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया