सुन्धाराको होटल सिद्धार्थमा ममता र नरेशबीच भएको त्यो पहिलो भेट


काठमाडाैं- कञ्चनपुरको बेल्डाँडी गाउँपालिका– २ का नरेश भट्टले चिकित्सा प्रतिनिधि (एमआर) को रुपमा १० वर्ष काम गरे । आफ्नो करियर पोखराबाट सुरु गरेका उनले भारतमा पनि काम गरेका थिए । बुवा पारामेडिक्स भएका कारण उनी मेडिकल क्षेत्रमा छिरेका थिए ।

आर्थिक अवस्था कमजोर भएकाले उनी एसएलसीपछि पढाइलाई रोकेर भारतमा रोजगारीका लागि गएका थिए । त्यहाँ उनले केही पैसा जम्मा गरेर पछि आफ्नो पढाईलाई निरन्तरता दिए । त्यसपछि मेडिकल क्षेत्रमा छिरेका उनले लामो समयसम्म कैलालीको धनगढीमा बसेर काम गरे । त्यहाँ उनले दुई मेडिकलमा पनि लगानी गरेका थिए । तर, एउटा सपनाका कारण उनले ८ वर्षअघि कैलाली छाडेर गए । त्यो सपना थियो अमेरिका जाने । नरेशको उक्त सपना अमेरिकाको डिभी परेर पूरा भएको थियो । २०७३ साल साउन १४ गते अमेरिकाका लागि उडेका थिए । केही समय एउटा कम्पनीमा काम गरेपछि उनी २०७४ सालमा यूएस आर्मीमा भर्ति भएका थिए ।

७ वर्षअघि यूएस आर्मीको आईटी विभागमा कार्यरत उनको चिनजान काभ्रेको पनौती नगरपालिका–६ स्थित नमोबुद्धकी ममता काफ्लेसँग भएको थियो । भारतको बैंग्लोरबाट नर्सिङ विषय अध्ययन गरेकी घरकी एक्ली छोरी ममतासँग उनको बिहे २०७७ मंसिर २५ गते भएको थियो ।


होटल सिद्धार्थमा भएको पहिलो डेट
अमेरिका गइसकेपछि नरेश बेला–बेला नेपाल आइरन्थे । उता नर्सहरुलाई जागिरको राम्रो अवसर पाइने हुँदा उनले नेपाल आएको बेला बिहेका लागि नर्सिङ अध्ययन गरेकी युवती खोजीरहेका थिए । उनका एक साथीका अनुसार बिहेका लागि ३ जना युवतीसँग कुराकानी भइसकेपछि ममतासँग नरेश नजिकिएका थिए ।

सामाजिक सञ्जालमार्फत चिनजान भइसकेपछि नरेशले नेपाल आएका बेला ममतालाई भेटेका थिए । २०७५ तिर नेपाल आएको दोस्रो दिन उनीहरुको भेट सुनधारास्थित होटल सिद्धार्थमा भएको थियो, जहाँ नरेश बसेका थिए । पहिलोपटक भेट गरेपछि एकअर्कालाई मन पराएका उनीहरु करिब २ वर्षसम्म प्रेम सम्बन्धमा बसेको नरेश निकटका एक साथी बताउँछन् ।

छोरी जन्मेपछि सम्बन्धमा दरार
नरेशसँग बिहे गरेको ८ महिनापछि २०७८ साल साउन १० गते ममता पनि अमेरिका गएकी थिइन् । उनी त्यहाँ पुगेर नर्सिङ पेशमा कार्यरत थिइन् । अमेरिकाको भर्जिनियामा बस्दै गरेका उनीहरुको आफ्नै घर छ ।

गतवर्ष भदौ ५ मा ममता आमा बनिन् । घरमा छोरी जन्मेपछि उनको हेरचाहका लागि माइतीपक्षबाट ममताकी आमा अमेरिका जान चाहेकी थिइन् । तर, केही कारण उनी जान नसकेपछि उनका आमा अमेरिका पुगेकी थिइन् । त्यतिबेलादेखि नै दुवै दम्पतिबीच दरार आएको उनका आफन्त बताउँछन् । ममता र नरेशकी आमाबीच खटपट हुँदा ममता केही दिन अलग्गैसमेत बसेकी थिइन् । त्योबेला आफूहरुको सम्बन्धमा खटपट आएको भनेर नरेशले आफ्ना साथीसँग कुरा पनि गरेका थिए ।

ती साथीका अनुसार नरेशले ‘यस्तै छ यार सम्बन्ध’ भनेर दुखेसो गरेका थिए । सोही समयमा ममताले पनि आफ्नो सामाजिक सञ्जालमा सम्बन्धमा दरार आएको भाव दर्शाउने पोष्ट गरेकी थिइन् । यद्यपि उक्त पोष्ट उनले पछि हटाएकी थिइन् ।

सोही समयमा ‘डिप्रेशन’मा पनि गएको भन्दै उनले एक साथीलाई सेयर गरेकी थिइन् । करिब ८ महिनाअघि उनले काम पनि छाडेको उल्लेख गर्दै योगा र मेडिटेसन गरेर निको भएको महसुस गरेर पुन्रः जागिरमा फर्केको भन्दै एक साथीलाई भिडियोमार्फत जानकारी गराएकी थिइन् । उनले श्रीमानसँग सम्बन्ध नराम्रो भएकोमा पछि पुनः सम्बन्धमा सुधार आएकोसमेत बताएकी थिइन् ।

अनि बेपत्ता भइन् ममता
सासु–ससुरा नेपाल फर्केपछि श्रीमान्सँगको सम्बन्धमा सुधार आएको बताउने ममता साउन १६ (जुलाई ३१) देखि एकाएक बेपत्ता भइन् । धेरै खोजबिन गरेर नभेटिएपछि प्रहरीले उनका श्रीमान् नरेशलाई हत्या गरेर बेपत्ता गरेको आरोपमा पक्राउ गरिसकेको छ ।

युभिए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा बालरोग नर्सको रूपमा कार्यरत ममताको हत्या उनकै श्रीमानले गरेको प्रहरीले अदालतमा बताइसकेको छ । नरेशले श्रीमतीको हत्या गरेको र उनको शवलाई मानसस पार्कमा रहेको आफ्नो घरबाट घिसारेर बाहिर निकालेको आरोप प्रहरीले लगाएको छ । ममताको शव फेला नपरेको कारण अहिले नरेशविरुद्ध मृत शरीर लुकाएको सम्बन्धमा छैटौं श्रेणीको आपराधिक आरोप लगाइएको छ ।

कार्पेटमा रगतको दाग देखिएको, वाथटवमा रगत बगेको, भट्टले वालमार्टबाट फरक साइजका तीनवटा चक्कु किनेर ल्याएको लगायतका प्रमाणहरु प्रहरीले अदालतमा बुझाइसकेको छ ।

घटनापछि नरेशको घरमा खोजतलासी गर्दा घर अव्यवस्थित अवस्थामा फेला पारेको थियो । खानतलासीको दुई दिनअघि नरेशले आफ्नो टेस्ला कार बेचेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

घरमा जाँदा नरेश भट्ट र उनकी छोरी दुवैका लागि सुटकेस प्याक गरिएको थियो र पासपोर्ट तयारी अवस्थामा थियो । यस्तै नरेशले आफ्नो घर पनि बेच्न केही व्यत्तिहरूसँग छलफल गरेको खुलेको छ ।

तर परिवार भने नरेशले यस्तो अपराध गरेको होला भनेर पत्याउने अवस्थामा छैन । कुनै अपराधिक विगत नभएका उनमाथि हत्याजस्तो आरोप लगाइदा उनका साथी पनि अचम्मित भएका छन् ।

उता ममताको परिवार भने राम्रै सम्बन्ध भएका दुवैबीच के भयो होला भनेर अनुमान गर्न सकिरहेका छैनन् । ममताकी आमा गीता काफ्लेका अनुसार गत माघमा अमेरिका पुगेकी सासुले कुट्न आएको भन्दै छोरीले गुनासो गरेका बताइरहेकी छिन् ।

त्योपछि ममता केही दिन छुट्टै बस्ने कुरा भएको उनले स्मरण गरिन् । ‘छोरी हराएपछि प्रहरीले घर खानतलास गर्नुभन्दा एकदिन अघि नरेशसँग कुरा भएको थियो । मेरो छोरीलाई के गर्नुभयो भनेर भन्दा उनले म एक्लै के गर्नसक्छु, भेटिन्छ होला भनेर भनेका थिए’ आमाले भनिन् ।

घटनापछि विभिन्न समाचार माध्यममा कुरा गर्दै नरेशले ममताको खोजतलास भइरहेको बताएका थिए । उनले मिडियामार्फत नै ‘केही तनाव भए मिलेर समाधान गरौंला’ भनेर घर फर्कन आग्रह गरेका थिए ।

उनले आफूहरुको सम्बन्ध राम्रै भएको तर एकपटक भने विवाद भएको बताएका थिए । नरेशले ममता हराउनुअघि पनि उनको अवस्था राम्रै भएको बताएका थिए ।

घर खानतलासपछि हिरासतमा रहेका नरेशले अहिलेसम्म अपराध स्वीकार गरेका छैनन् । सोमबार उनलाई मनसासस्थित प्रिन्स विलियम अदालतमा पेश गरिएको थियो । नरेशका वकिलहरुले उनीविरुद्ध ठोस प्रमाण नभएको र कुनै अपराधिक पृष्ठभूमि नरहेकाले धरौटीमा छोडन अपिल गरेका थिए । तर, सुनवाइपछि अदालतले उनलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ ।

अर्को सुनवाइ २४ अक्टोबरमा तोकिएको छ ।

 

प्रतिक्रिया