५ वर्षअघि कञ्चनपुरका नरेशसँग भएको थियो ममताको ‘लभम्यारिज’


काठमाडौं- ५ वर्षअघि काभ्रेको पनौती घर भएकी ममता काफ्लेको चिनजान कञ्चनपुरका नरेश भट्टसँग भएको थियो । भट्ट त्यतिबेला अमेरिकामा थिए । सामाजिक सञ्जालबाटै उनीहरुबीच प्रेम सम्बन्ध स्थापना भएको थियो । त्यसपछि ०७७ साल मंसिर २५ मा दुवैले बिहे गरेका थिए । विवाहको ८ महिनापछि ०७८ साल साउन १० मा ममता पनि अमेरिकाका लागि उडिन् । झण्डै एक वर्षअघि उनले छोरीलाई जन्म दिएकी थिइन् । तर, गत साउन १६ गते भर्जिनियाबाट ममता एकाएक बेपत्ता भएकी थिइन् ।

उनी बेपत्ता हुनमा नरेशकै हात रहेको प्रहरीले बताइरहेको छ । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका– २ घर भएका नरेश भट्ट २०७३ सालको साउनमा अमेरिकाका गएका थिए । अमेरिका पुगेको एक वर्षपछि ०७४ साल असारमा उनी यूएस आर्मीमा भर्ती भएका थिए । सोही क्रममा उनी ममतासँग सामाजिक सञ्जालमा नजिकिएका थिए ।

प्रेम सम्बन्धपछि छोरी जन्मिसकेको अवस्थामा नरेशले पत्नी ममतालाई कता बेपत्ता पारे भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ । युभिए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा बालरोग नर्सको रूपमा कार्यरत ममता भट्टको हत्या उनकै श्रीमानले गरेको प्रहरीले अदालतमा बताइसकेकाे छ ।

अमेरिकी मिडिया फक्स ५ ले  नरेश भट्टले आफ्नी श्रीमती ममता काफ्ले भट्टको हत्या गरेको र उनको शवलाई मानसस पार्कमा रहेको आफ्नो घरबाट घिसारेर बाहिर निकालेको आरोप लगाएको छ ।  ममताको शव फेला नपरेको कारण अहिले नरेशविरुद्ध मृत शरीर लुकाएको सम्बन्धमा छैटौं श्रेणीको आपराधिक आरोप लगाइएको छ ।

ब्लुस्टार टेक्नोलोजीको साथमा थप परीक्षणले त्यो रगत भएको पुष्टी भएकाे थियाे । श्रीमती हराएको बारेमा प्रहरीले सोधपुछ गर्दा नरेशले धेरै असंगत बयान दिएको पनि अदालतमा बताइएको छ ।

अभियोजनकर्ताहरूले अदालतमा गरेको दाबीअनुसार ३० जुलाईमा नरेश चान्टिलीको वालमार्टमा गएर तीनवटा चक्कुहरूको प्याकेट किनेका थिए । तर उनको घरको खोजीमा एउटा मात्र चक्कु फेला परेको थियो ।

वालमार्टको सीसीटीभी फुटेजमा पनि नरेशले जुलाई ३१ मा विभिन्न सफाई सामग्रीहरू खरिद गरेको देखिएको थियो । उनले किनेको र हराइरहेको चक्कु हत्या गर्न प्रयोग गरेको र सफाइ सामग्रीहरू हत्यापछि घटनास्थल सफा गर्न प्रयोग गरेको प्रहरीको आरोप छ ।

घटनापछि  नरेशको घरमा खोजतलासी गर्दा घर अव्यवस्थित अवस्थामा फेला पारेकाे थियाे । खानतलासीको दुई दिनअघि नरेशले आफ्नो टेस्ला कार बेचेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

घरमा जाँदा नरेश भट्ट र उनकी छोरी दुवैका लागि सुटकेस प्याक गरिएको थियो र पासपोर्ट तयारी अवस्थामा थियो । यस्तै नरेशले आफ्नो घर पनि बेच्न केही व्यत्तिहरूसँग छलफल गरेकाे खुलेकाे छ ।

प्रतिक्रिया