बंगलादेशमा हिन्दू मन्दिरमा पहरा दिइरहेका मुस्लिमहरू


बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेको केही घण्टामै प्रदर्शनमा उत्रिएका मोइनउल हिन्दू मन्दिरको पहरा दिन खटिए ।

उनले हिन्दू मन्दिरहरूमा हिंसात्मक आक्रमण भएका सामाजिक सञ्जालका भाइरल भिडिओहरू देखेपछि यस्तो कदम चालेका थिए ।

“तीनको सुरक्षा गर्ने हाम्रो जिम्मेवारी हो,” चिटगोङ्गको हथराजीमा रहेको श्रीश्री सीता काली माताको मन्दिरमा पहरा दिइरहेका उनले भने ।

“हामी सबै सरकारी पूर्वाधारहरू, मन्दिर, गिर्जाघर र उनीहरूका सबै स्थानहरूको सुरक्षा गर्छौँ ।”

मोइनउलले सामाजिक सञ्जालमा भाइरल भइरहेका पोस्टहरू आफूले त्यही स्थानमा पुगेर देखेको दृश्य भन्दा फरक पाएको बताए ।

सामाजिक सञ्जालका पोस्टहरूले बाङ्ग्लादेशलाई बाहिरी विश्वमा अस्थिर देखाउन खोजेको उनको दाबी छ ।

बाङ्ग्लादेशको स्वतन्त्रता आन्दोलनमा लडेका व्यक्तिहरूका परिवारका लागि सरकारी जागिरमा ३० प्रतिशतसम्म आरक्षणको व्यवस्था खारेजीको माग गर्दै उनी पनि सडक प्रदर्शनमा भाग लिएका थिए ।

तर उक्त प्रदर्शनमाथि सरकारको कठोर दमनले उनीहरूको माग प्रधानमन्त्री हसिनाको राजीनामातर्फ सोझियो ।

हप्तौँसम्मको हिंसाले विपक्षी पार्टीका अभियानकर्मीहरू थप आक्रोशित भए। त्यसमध्ये धेरै जनालाई हसिनाको शासनकालमा राज्यले दु:ख दिएको थियो ।

योसँगै कम जनशक्तिमा चलिरहेका प्रहरी चौकीहरूबाट प्रहरीहरू भागे पछि बाङ्ग्लादेशमा हिंसा मात्रै फैलिएन लुटपाट पनि मच्चियो ।

त्यसको निसानामा सत्ताधारी अवामी लीगका कार्यकर्ता र समर्थकहरू परे ।

स्थलगत विवरणहरूले प्रदर्शनमा सहभागी नभएका सर्वसाधारणहरू पनि हिंसा र लुटपाटबाट प्रभावित भएको देखाएको छ ।

मुस्लिमबहुल देशमा हिन्दू अल्पसङ्ख्यकहरू आक्रमणको हुने डरले त्रसित देखिएका छन् ।

सामाजिक सञ्जालमा गलत कथन
विभिन्न स्थानमा अराजकता बढ्दै जाँदा भारतका अति दक्षिणपन्थी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त्यसलाई मसला बनाए ।

उनीहरूले बाङ्ग्लादेशमा हिन्दूहरूमाथि हिंसा भएको दाबी गर्दै भ्रामक सूचना शेअर गरे ।

यसले प्रदर्शनकारीहरू “इस्लामिक चरमपन्थी” थिए र हिंसात्मक उद्देश्य भएका थिए भन्ने हल्लामा थप बल पुग्यो ।

यस्ता गलत कथनबारेका पोस्टहरूमा प्रयोग गरिएको ह्यास्ट्यागका आधारमा सामाजिक सञ्जालको निगरानी गर्ने अनलाइन ब्रान्डवाचबाट जाँच गर्दा अगस्ट ४ यता ७,००,००० पोस्टहरू भएका देखिन्छन् ।

सबैभन्दा धेरै यस्तो जानकारी फैलाउने खाताहरू भारतबाट सञ्चलन भएका देखिन्छन्।

एउटा भाइरल पोस्टमा बाङ्ग्लादेशका हिन्दू क्रिकेटर लिटन दासको घर जलाइएको दाबी गरिएको छ ।

अरू कतिपय सामाजिक सञ्जालका खाताहरूमा “इस्लामिक” मानिसहरूले आगो लगाएको दाबी गर्दै उक्त जानकारी शेअर गरिएको छ । -बीबीसीबाट

 

प्रतिक्रिया