कोशीमा मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरूको सनाखत भोलि


मोरङ – कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति अघि समर्थन गर्ने प्रदेश सांसदहरूको सनाखत गराइने भएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्तिअघि दाबी पेस गरेका उम्मेदवारहरूलाई समर्थन गर्ने सांसदहरूको सनाखत गराउने भएका हुन् । सांसदहरूको सनाखत शनिबार (भोलि) दिउँसो हुनेछ ।

कोशीको मुख्यमन्त्रीमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बो र कांग्रेस सांसद केदार कार्कीले दाबी पेस गरेका छन् । एमाले प्रमुख सचेतक रवतीरमण भण्डारीले मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरूको सनाखत भोलि गर्ने सहमति भएको बताए ।

‘हामीले हामी ४७ जना सांसदहरू आएका छौँ, सनाखत आजै गरौँ भन्यौ । तर, प्रदेश प्रमुख खापुङले आज राति भएकाले सनाखत गर्न अप्ठ्यारो भयो भन्नुभयो,’ उनले भने, ‘अब भोलि सनाखत गर्ने सहमति भएको छ ।’

प्रतिक्रिया