महिला एसिया कप: नेपाललाई १ सय १६ रनको लक्ष्य


काठमाडौं – महिला एसिया कप क्रिकेटको पहिलो खेलमा युएईसँग खेलिरहेको नेपाली टोलीले १ सय १६ रनको लक्ष्य पाएको छ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १५ रन जोड्न सक्यो।

श्रीलंकाको राङ्गिरी दम्बाला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा युएईका लागि कप्तान इशा ओजाले १० रन जोड्दा, समाइरा धरनिधर्क १३ रन, कविशा इगोडागेले २२ रन र खुशी शर्माले सर्वाधिक ३६ रन जोडिन्।

नेपालका लागि भने कप्तान इन्दु बर्माले सर्वाधिक ३ विकेट लिइन्। यस्तै, सबनम राई, कविता जोशी र कृतिका मरासैनीले समान १/१ विकेट लिए।

महिला एसिया कप खेल्न समूह ए मा रहेको नेपाली महिला क्रिकेट टोलीले समूह चरणमा युएईसँगै पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गर्ने छ।

यसअघि सन् २०१२ र २०१६ मा महिला एसिया कप खेलेको नेपालले आठ वर्षपछि पुनः अहिले प्रतियोगिता खेल्न लागेको हो।

एसिया कप साउन ४ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन्। समूह चरणबाट दुई–दुई टोली सेमिफाइनल पुग्नेछन्।

प्रतिक्रिया