शैल्यशिखर: मेयर धामीका कारण सुदूरपश्चिम मै बदनाम

नातागोताको भर्ति केन्द्र बनेको नगरपालिका भ्रष्टाचारमा चुर्लुम्म !


काठमाडौं – विजयसिंह धामी उर्फ बिजराम नेतृत्वको दार्चुलास्थित शैल्यशिखर नगरपालिकाले सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहको रेकर्ड ब्रेक गरेको छ ।

पालिकामा उनी निर्वाचित भएको दोस्रो वर्षमै उनले सुदूरपश्चिमका सबै स्थानीय तहलाई उछिन्दै सबैभन्दा बढी बेरुजुको रेकर्ड दर्ता गराएका छन् ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०८१ को ६१औँ वार्षिक प्रतिवेदनमा शैल्यशिखर नगरपालिकाको बेरुजु ८.०५ प्रतिशत रहेको छ। यो सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु रकम हो ।

यस्तै, मेयर धामीले आफ्नो काम सजिलोका लागि भन्दै केही समय अगाडि आफ्नै जेठा छोरा छिमेकी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत (हाकिम) रहेको पुष्करसिंह धामीलाई आफ्नै पालिकामासमेत दोहोरो जिम्मेवारी मिलाएर छुट्टै रजगज चलाए। गत वर्ष असोज २ गतेदेखि शैल्यशिखरमा हाकिमको कुर्सी सम्हालेका पुष्करले स्थानीयको निरन्तर खबरदारीपछि फागुन १ गतेदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिम्मेवारीबाट हटाएको थियो ।

पुस्करले शैल्यशिखरमा हाकिम रहँदा मेयर बुवाको आडमा आफू निकट कर्मचारी र ठेक्काहरूको फाइलमा सम्बन्धित कामको कुनै प्रमाणै नहेरी भुक्तानीका लागि सिधैँ लेखा शाखालाई तोक लगाउने गरेका थिए भने उक्त कार्य रोक्ने तत्कालिन लेखा प्रमुख विजयसिंह बिष्टलाई विभिन्न कर्मचारी र वडाध्यक्षमार्फत खुलेआम धम्क्याएको समाचार र प्रमाण विभिन्न सञ्चारमाध्यमले प्रकाशितसमेत गरेका थिए ।

मेयर धामीका जेठा छोरा स्थायी कर्मचारी भएपनि कान्छा छोरा जनकसिंह धामीलाई भने करारमा पशु नायव प्राविधिक सहायक (जेटीए)मा जागिर खुवाउँदै आएका छन् । केही समय पालिका कार्यालयमै हाजिरको ब्यवस्था मिलाएका जनकलाई मेयर धामीले पछिल्लो ३ महिनायता आफ्नै वडामा लगेर पशु शाखा प्रमुख बनाएका छन् ।

यस्तै, मेयर धामीले नजिकैका भतिजा पर्ने योगेशसिंह धामीलाई पालिका प्राविधिक प्रमुख (इन्जिनियर)को जागिर खुवाइरहेका छन् । इन्जिनियर योगेशले पनि मेयर बुवाको आडमा पालिकामा रजगज चलाइरहेका छन् । पालिकाको ठेक्कापट्टा उनको ठूलै हात रहने स्थानीय ठेकेदारहरूको आरोप छ ।

मेयर धामीले कृषि शाखा प्रमुख(अधिकृत) बनाएका मोहनसिंह धामी र कृषि नायव प्राविधिक सहायक(जेटीए) अशोकसिंह धामीद्वयलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले हिजो(सोमबार) घुससहित रंगेहात पक्राउ गरेको छ। प्राविधकद्वय धामीहरूपनि मेयरका भतिजा नै हुन्।

मेयर धामीले पालिकामा ३५ वर्ष कटिसकेका स्थानीय मनोरथ जोशीलाई सूचना अधिकारी भन्दै जागिर खुवाएका थिए। उनको नाम केही समय अगाडि पालिकाकै वेबसाइटमा सूचना अधिकारी भन्दै राखिएको थियो। तर, पछि स्थानीयले विरोध गर्दा वेबसाइटबाट उनको नाम हटाइएको थियो।

सोबारेमा कागजपत्रले वर्तमान हाकिम शेरबहादुर बुढासँग बुझ्दा उनलाई सहजकर्ता भन्दै राखिएको र उनको उमेरको बारेमा आफूलाई थाहा नभएको प्रतिक्रिया दिए। हाकिम बुढाले आफू पालिकामा हाजिर हुनुभन्दा अगाडि नै जोशीलाई नियुक्ति दिएको बताए ।

मेयर धामीले त्यतिमात्र नभएर आफ्ना भान्जा, भान्जीसमेतलाई पालिकामा करारमा जागिर खुवाएको तथ्य खुलेको छ । उनले पालिका मातहतमा रहेको गोकुलेश्वर अस्पतालको एकमात्र एम्बुलेन्स चलाउनका लागि ३ जनासम्म ड्राइभरलाई जागिर खुवाएका छन्।

सयौँको संख्यामा नियमविपरित पालिकामा करारमा भर्ना गरिएका कर्मचारीमाथि पछिल्लो समय टिकाटिप्पणी उठ्दै जाँदा हाल पालिकामा रहेका नयाँ हाकिम शेर बहादुर बुढाले यस आर्थिक वर्षदेखि करार कर्मचारीको म्याद नथप्ने निर्णय गर्न लगाएका छन्। उनले सो प्रस्ताव कार्यपालिमा पेश गर्दै अनावश्यक कर्मचारीको म्याद साउन १ गतेदेखि नथप्ने निर्णय गराएको प्रतिक्रिया दिएका छन् ।

मेयर धामीले करार कर्मचारी संयन्त्रको प्रयोग गरेर पालिकामा हुने हरेक ठेक्कापट्टामा कमिसन उठाएको आरोप उनकै पार्टी निकटका नेताहरूको छ।

पक्राउ परेका धामीद्वयलाई काठमाडौं ल्याइदैँ

घुससहित समातिएका दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिकहरूलाई काठमाडौं ल्याइदैँ छ।

उनीहरूलाई धनगढीबाट अहिले २ बजे हवाइमार्ग हुँदै काठमाडौं ल्याइदैँ गरेको स्रोतले जानकारी दिएको छ।

करार सेवाअन्तर्गत पालिकामा राखिएका कृषि शाखा प्रमुख (कृषि अधिकृत) मोहनसिंह धामी र कृषि नायव प्राविधिक सहायक(जेटीए) अशोकसिंह धामीलाई सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको कार्यालयले ४ लाख १२ हजार रुपैयाँ घुस लिँदालिदैँ समातेको थियो ।

उनीहरूलाई कैलालीको धनगढी उपमहानगरपालिका-४ बोराडाँडीबाट सेवाग्राहीबाट नगद ४ लाख १२ हजार घुस लिइसकेको अवस्था र अधिकृत धामीको साथबाट ४५ लाख ६० हजारको ५ थान चेक, जेटीए धामीको नाममा काटिएको २ लाख ५० हजारको २ वटा गरी ५० लाख ६० हजारको चेकसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

कृषि प्राविधिकद्वय धामीले कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारबाट खटिएको टोलीले रंगेहात पक्राउ गरेको थियो ।

यो पनि

घुससहित समातिएका शैल्यशिखर नगरपालिकाका अधिकृत धामीसँग भेटियो ५० लाखको चेक

रंगेहात समातिएका शैल्यशिखर नगरपालिकाका अधिकृत धामीसँग भेटियो ४ लाख १२ हजार

शैल्यशिखर नगरपालिकाका कृषि अधिकृतसहित २ जना घुससहित पक्राउ

प्रतिक्रिया