

अजित प्रकरण : दुबईमा रहेकी प्रेमिकासँगको ‘च्याट’को खोज्दै प्रहरी

काठमाडौं– संघीय संसद भवनमा कार्यरत् नेपाल प्रहरीका जवान अजित गोलेले आफैँलाई गोली हानेर आत्महत्या गरेको उनकी प्रेमिकाविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ ।
अजितका परिवारजनले प्रेमिकाविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थालेको हो ।
अजितका परिवारजनले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । अहिले नै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको नभएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । मोबाइलको परीक्षणपछि आएका प्रमाणका आधार प्रहरीले यसबारे थप निस्कर्ष निकाल्नेछ ।
अजितकी प्रेमिका दुबइमा छिन् ।
संघीय संसद भवनमा कार्यरत् नेपाल प्रहरीका जवान अजित गोलेले प्रेमिकासँग भिडियो कल गर्दागर्दै आफैले बोकेर हतियारले निधारमा गोली प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रहरीले अजित र प्रेमिकाबिच भएको कुराकानी,च्याट लगायतको विवरण हेरेर अनुसन्धान अगाडी बढाउने भएको छ ।
यसका लागि अजितको मोवाइल प्राविधिक परिक्षणका लागि पठाइएको छ ।
प्रहरीको विशेष सुरक्षा दस्ता (एसटीएफ) मा कार्यरत २२ वर्षीय गोलेले प्रेमीकाकै कारण आफूलाई गोली हानेकोे प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।
दोलखा मेलुङ गाउँपालिका–४ घर भएका गोलेले आफ्नै खर्चमा केही समयअघि प्रेमिकालाई वैदेशिक रोगजारीका लागि दुबई पठाएका थिए । तर, उता गएपछि प्रेमिका विस्तारै सम्पर्कविहीन हुँदा गोले तनावमा थिए ।
उनकी प्रेमिकालाई परिवारसँगै चिनजानसमेत गराइसकेका थिए । प्रहरी जवान गोलेले पारिवारिक सहमतिमा नै विवाह गर्ने योजना पनि बनाइसकेका थिए । उनीहरूको इन्गेजमेन्ट पनि भइसकेको जनाइएको छ ।
दुबई पुगेपछि प्रेमिकाले उनलाई वास्ता गर्न छाडेको भन्दै उनीहरुबीच विवाद हुने गरेको परिवारजनले बताएका छन् । उक्त कुरा उनीहरुको मोबाइलमा भेटिएको म्यासेजबाट समेत पुष्टि भएको अनुसन्धानमा संलग्न एक अनुसन्धान अधिकृतले जानकारी दिए ।
गोले संसद् भवनको पश्चिमपट्टिको २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए । उनले आफैँले बोकेको राइफलले निधारमा फायर गरेका थिए । गोले २०७६ सालमा प्रहरी सेवामा जवानको रुपमा प्रवेश गरेका थिए ।

