दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको छत खस्दा एककाे मृत्यु, ६ जना घाइते


नयाँ दिल्ली-  शुक्रबार बिहानै परेको मुसलधारे वर्षाका कारण दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल १ को छात खसेको छ । छत भत्किँदा एक जनाकाे मृत्यु भएकाे छ भने ६ जना घाइते भएका छन् ।

मृतक ४४ वर्षका मुन्ना यादव भएको बताइएको छ । करिब १० ओटा कार र गाडीमाथि छत खस्दा त्यसमा सवारहरू ६ जना घाइते भएका थिए ।

छत सवारीसाधन र ट्याक्सीमाथि खस्दा केही मानिस दबेका थिए । घटनाबारे दिल्ली फायर डिपार्टमेन्टलाई जानकारी दिइएको थियो । फायर डिपार्टमेन्टका चारवटा गाडी उद्धारका लागि घटनास्थलमा पुगेका थिए । छतको सिटबाहेक सपोर्ट बिम पनि खसेकाले यात्रु ओसारपसार गर्ने सवारीसाधन दुर्घटनामा परेका हुन् ।

स्थिति बुझ्न घटनास्थलमा केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडु पनि पुगेका थिए । दुर्घटनामा मृत्यु र घाइते भएकाहरूका लागि उनले क्षतिपूर्तिको घोषणा गरेका थिए ।  मृतकको परिवारलाई २० लाख भारु र घाइतेलाई ३ लाख भारु दिने घोषणा गरिएको हाे ।

यस घटनापछि टर्मिनल १ बाट सबै उडानहरू अस्थायी रूपमा रोकिएका छन् र सुरक्षाका कारण चेक इन काउन्टरहरू बन्द गरिएको छ ।

प्रतिक्रिया